काठमडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकीकरण घोषणा कार्यक्रम तोकिएको समयमा सुरु हुन सकेको छैन ।
आज बिहान ठीक ११ बजेका कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम सुरु हुने तालिका भए पनि अहिलेसम्म कार्यक्रम सुरु हुन सकेको छैन ।
एकता हुनुपूर्व नै दुई पार्टीका नेताहरूबीच विवाद सुरु भएको छ । एकीकृत पार्टीमा सात सय जनाको केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०–५० प्रतिशत केन्द्रीय सदस्य चयन गर्ने सहमति भएको थियो । सचिवालय संरक्षक रेशम चौधरी तथा दुवै पार्टीबाट १२–१२ जना गरी २५ सदस्यीय बनाउने तयारी छ ।
त्यस्तै संरक्षक चौधरीसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा आएर सहमति भए जस्तो नहुने भएपछि चौधरी पक्ष असन्तुष्ट बनेको छ ।
एकता घोषणा सभाबाटै दुवै पक्षबाट केन्द्रीय सदस्य घोषणा गर्ने सहमति भएको थियो । तर, जनमत पार्टीले सबै सदस्यको नाम नदिँदा पार्टी एकता घोषणा नै नहोला जस्तो माहोल बनेको नाउपाका एक केन्द्रीय सदस्य बताउँछन् ।
यसअघिका दुवै पार्टीका बैठकले नाउपाका संरक्षक रेशम चौधरी एकतापछि पनि संरक्षक रहने जनतम पार्टीका अध्यक्ष सिके रावत एकतापछि पनि अध्यक्ष रहने र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ एकतापछिको पार्टीको सहअध्यक्ष रहने, चुनाव चिन्ह ढकिया राख्ने सहमति भएको छ ।
प्रतिक्रिया