ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रहरी सेवामा तीन दाजुभाई: दुई डीएसपी, एक इन्सपेक्टर

सोमबार २२, बैशाख २०८२ ०२:४२

टीकापुर । एउटै कोखबाट जन्मिएका तीनजना दाजुभाई नेपाल प्रहरीको अफिसर भएको घटना बिरलै हुनसक्छ । अछाम जिल्लाको विकट क्षेत्र मानिने रामारोशनमा जन्मिएका तीन दाजुभाई प्रहरी कार्यालयमा कमाण्ड सम्हालिरहेका छन् । 

उनीहरु रामारोशन गाउँपालिका– ४ का देवानन्द न्यौपाने र पारु न्यौपानेका कोखबाट जन्मिएका हुन् । न्यौपाने पेशाले शिक्षक हुन् । उनी ४४ वर्षको शिक्षण पेशाबाट एक महिना अघि मात्रै अवकाश प्राप्त भएका छन् । उनकी श्रीमती गृहणी हुन् । 

न्यौपाने दम्पत्तीका जेठो छोरा सिद्धराज न्यौपाने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पिएसओ छन् । उनी प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् । उनी लामो समयदेखि प्रचण्डको सुरक्षा कमाण्डमा कार्यरत छन् । 

०६३ सालमा प्रहरी निरीक्षकबाट संगठनमा भर्ना भएका उनी २०७४ मा प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए । उनी संगठनमा एक कुशल प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । उनले अहिलेसम्म धेरैजसो ठाउँमा इञ्चार्जको भूमिका निर्वाह गरेका छन् । उनी प्रहरी उपरीक्षकमा बढुवाको लाइनमा छन् ।  

माइलो छोरा केशर न्यौपाने सल्यान जिल्लाको कमाण्ड सम्हालिरहेका छन् । उनी पनि डीएसपी हुन् । २०७० मा प्रहरी निरीक्षक भएका उनी ०८० मा प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए । 

काठमाण्डौं, हेटौडा लगायतका जिल्लाका विभिन्न प्रहरी यूनिटको कमाण्ड सम्हालेका उनी अहिले सल्यानमा काम गरिरहेका छन् । उनी जनतासँगको मितव्ययी सम्बन्धका कारण चर्चामा रहन्छन् । 

कान्छो छोरा मुकेश न्यौपाने २०७६ मा प्रहरी निरीक्षक भए । उनी हाल रुपन्देही जिल्लाको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन् । 

न्यौपाने दम्पत्तीका जेठो छोराले कैलालीको टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका हुन् । अन्य दुई छोराहरुले भने अछामको रामारोशनस्थित सरस्वती मावि झाँताबाट एसएलसी गरेका थिए । उनीहरु सबैको एसएलसी पछिको उच्च शिक्षा भने काठमाडौंमा भयो । 

अछामको विकट मानिने रामारोशन क्षेत्रमा शिक्षण पेशामा कार्यरत देवानन्दको कुनै राजनीतिक सम्बन्ध थिएन । उनले भनसुन गर्ने मान्छे पनि चिनेका थिएनन् । उनी छोराहरुको आफ्नै मेहनतले उचाई हासिल गरेको बताउछन् । ‘मेरो त त्यस्तो कोही थिएन । छोराहरुले मेहनत गरे सफल भए,’ उनले भने, ‘अहिले सम्झिदा गर्व महसुस भइरहेको छ ।’

न्यौपाने दम्पत्तीका अन्य सन्तान पनि कम छैनन् । साइलो छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन् भने छोरी कविता चिकित्सक छन् । छोरा जागिर गर्छन् । छोरी दार्चुला अस्पतालमा कार्यरत छन् । 

न्यौपानेको परिवार अछामबाट कैलाली बसाइसरेको छ । उनीहरु कैलालीको जानकी गाउँपालिका बन्देवीपुरमा बसोबास गर्छन् । देवानन्दका बुबाआमा पहिल्यैदेखि सो ठाउँमा बसोबास गर्दै आएका थिए ।
 

प्रतिक्रिया