ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गभर्नरमा गुणाकरको विकल्प खोज्ने तयारीः सुदूरपश्चिममा काँग्रेसको विरोध

आइतबार २८, बैशाख २०८२ ०३:०९

धनगढी । ३ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने समझदारी भयो । सोही समझदारीपछि भट्टले ५ वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिए । तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरिनन् । 

तीन सातासम्म भट्टको राजीनामा स्वीकृत नभएपछि अहिले नेपाली काँग्रेसले गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम प्रस्ताव गरेको चर्चा चलेको छ । यसअघि नै काँग्रेस सभापति देउवाले भट्टको राजीनामा स्वीकृत नभए विकल्प खोज्नुपर्ने बताएका थिए । 

भट्टको राजीनामा स्वीकृत भएपछि मात्रै अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सिफारिस समितिले उनको नाम गभर्नरका लागि सिफारिस गर्न सक्ने अवस्था रहेको देउवाको आसय थियो । सिफारिस समितिले राष्ट्र बैंकका डेपुटी गभर्नर एक जना र बाँकी विज्ञबाट तीन जनाको नाम सिफारिस गर्न सक्ने कानुनी व्यवस्था छ । भट्ट डेपुटी गभर्नर होइनन् भने राजीनामा स्वीकृत नभएपछि उनको नाम विज्ञबाट पनि सिफारिस गर्नसक्ने अवस्था थिएन । 

भट्टलाई पाखा लगाएर अहिले काँग्रेसले नै पौडेलको नाम प्रस्ताव गरेको चर्चापछि सुदूरपश्चिममा सत्तारुढ दलको आलोचना बढ्न थालेको छ । त्यसमा पनि नेपाली काँग्रेस र सभापति देउवाको विरोध बढी हुन थालेको छ । 

माओवादीबाट प्रदेशसभा सदस्य रहेका ओमविक्रम भाटले देउवा दम्पतीले सुदूरपश्चिमलाई नै धोका दिएको बताएका छन् । ‘सुदूरपश्चिमले देउवालाई पाँच–पाँच पटक प्रधानमन्त्री बनायो, छैटौं पटकको पर्खाइमा छन्,’ उनले भनेका छन्, ‘तर अन्ततः देउवा दम्पतीले सुदूरपश्चिमलाई नै धोका दिदैछन् । गभर्नरमा यति सारो झेल र खेलोमेलो द्रब्यकै लागि हो त ?’ कार्यकारी निर्देशकको घर सुदूरपश्चिमको डोटी हो । 

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले गभर्नरको विषयले कैलालीमा काँग्रेस कमजोर बन्ने आसय व्यक्त गरका छन् । ‘वर्तमान परिस्थितिमा ड़ा. गुणाकर भट्टलाई घर न घाटको बनाएर अर्को  गभर्नर नियुक्त ग¥यो भने कैलाली काँग्रेसलाई निकै महंगो पर्नेछ,’ उनले भनेका छन् । गभर्नर नियुक्तिको प्रक्रिया लम्बिएपछि स्वयम् नेपाली काँग्रेसले पनि गुणाकरलाई गभर्नर नियुक्त गर्न चाहेको छैन भन्ने प्रष्ट देखिएको प्रध्यापक भट्टको भनाई छ । 

पत्रकार दीर्घराज उपाध्यायले डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न मानेन भन्नु हास्यास्पद कुरा मात्र नभए लाजमर्दो कुरा भएको बताएका छन् । ‘सरकारभन्दा माथि कामु गभर्नर हुदैन । कामु गभर्नरले डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न मानेन भन्नु हास्यास्पद कुरा मात्र होइन, लाजमर्दो कुरा पनि हो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘डा. गुणाकर भट्टको विकल्प खोजियो भने भोलि धनगढीका जनताले काँग्रेसका उम्मेदवारको विकल्प खोजे के हुन्छ ? गभर्नर बनाउन कार्यकारी निर्देशकबाट राजीनामा दिन लगाएर अहिले आएर भट्टको विकल्प खोज्नु सरासर बेइमानी हो ।’

सामाजिक अभियन्ता तथा व्यवसायी मदन भट्टले आर्थिक चलखेलकै कारण गभर्नरमा गुणाकरणको विकल्प खोज्न थालिएको बताएका छन् । ‘डा. भट्टले रकमी चलखेल धेरै गर्न सकेनन्, त्यसैले उनको विकल्प खोज्न थालिएको हो,’ उनले भने ।

गभर्नरमा नियुक्ति नभए कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट भट्टलाई प्रतिनिधिसभा निर्वाचन लडाउनुपर्ने काँग्रेसकै कतिपय कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त क्षेत्रबाट आफू चुनाव लड्ने यसअघि नै बताइसकेकी छिन् । 
 

प्रतिक्रिया