ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा पाँच स्थानमा उपचुनावः अहिलेसम्म कहाँ कति खस्यो मत ?

आइतबार १६, मङि्सर २०८१ ०२:४९

धनगढी । सुदूरपश्चिमका पाँच स्थानमा मतदान भइरहेको छ । पाँच वटै स्थानमा उत्साहजनक मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि भइरहेको उपनर्वाचनमा मतदान जारी छ । दिउँसो २ बजेसम्म तीन हजार छ सय ५० मत खसेको छ । गाउँपालिकाको कूल मतदाता सात हजार ६० छ । 

मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलका अनुसार पाँच वटै मतदान केन्द्र स्थल अन्तर्गतका मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । उपनिर्वाचनमा तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा एमालेबाट सुलोचना भण्डारी बुुढा, नेपाली कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छन् । 

डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा वडा अध्यक्ष पदका लागि मतदान जारी छ । त्यहाँ एक हजार पाँच सय ९३ मतदाता छन् । अहिलेसम्म सात सय ४९ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता संख्या भने एक हजार पाँच सय ९३ छ । त्यहाँ एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी कुमारी खड्का मैदानमा छन् ।

बझाङको सुर्मा गाउँपालिका–४ मा वडा अध्यक्ष पदका लागि मतदान जारी छ।  त्यहाँ एक हजार पाँच सय ५४ मतदाता छन् । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा अहिलेसम्म एक हजार एक सय ५७ मत खसेको छ । वडाअध्यक्ष पदको लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहराको उम्मेदवारी छ । 
 

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा बिहान ७ः१० देखि मतदान सुरु भएकोमा शान्तिपूर्ण रुपमा जारी छ । अहिलेसम्म ६ सय ७१ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ एक हजार दुई सय ७२ मतदाता छन् । एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार चुनावी मैदानमा छन् । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा मतदान जारी छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा अहिले २ बजेसम्म झण्डै दुई हजार मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार २ बजेसम्म एक हजार ८ सय ९० मत खसकेको हो । भीमदत्त –६ मा पाँच हजार चार सय ३४ मतदाता छन् । वडा अध्यक्ष पदका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसबाट प्रकाश चन्द, एमालेबाट बहादुर चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट सुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाट थानेश्वर लेखक उम्मेदवार छन् ।

प्रतिक्रिया