ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुर अस्पतालको प्रयोगशालमा स्वास्थ्यमाथि खेलवाड, म्याद गुज्रिएको केमिकल प्रयोग

सोमबार २९, बैशाख २०८२ ०६:०९

टीकापुर । टीकापुर अस्पतालको प्रयोगशालामा बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको पाइएको छ । सो प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग भइरहेको हो । एकवर्षअघि नै म्याद सकिएको केमिकल प्रयोग भइरहेको बताइएको छ । 

प्रयोगशाला इञ्चार्ज मरिचमान भूलले यो कुरा स्वीकारेका छन् । उनले आफूले समेत करिव एक महिना म्याद गुज्रिएको केमिकल प्रयोग गरेको बताए । उनी ०८१ माघ २ गते प्रयोगशाला इञ्चार्ज भएका हुन् । त्यसअघि इञ्चार्जको जिम्मेवारीमा गणेश ऐर थिए । उनलाई हाल अर्को जिम्मेवारीमा पठाइएको छ । 

स्रोतका अनुसार इञ्चार्ज ऐरले लामो समयदेखी म्याद गुज्रिएको केमिकल प्रयोग गर्दै आएका थिए । नेशनल पब्लिक हेल्थ लेब्रोटरीले ०८१ जेठमा गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखेपछि प्रयोगशाला बन्द गर्न सुझाव दिएको थियो । उसले प्रयोगशालाले बिरामीको स्वास्थ्यलाई झन समस्यामा पार्न सक्ने भनेको थियो । 

प्रयोगशाला सञ्चालनमा लापरबाही गरेको ठहर गर्दै अस्पताल विकास समितिले ऐरलाई जिम्मेवारीबाट हटाएर भूललाई इञ्चार्ज बनाएको छ । उनले इञ्चार्जको जिम्मेवारी पाएपछि प्रयोगशालाको गुणस्तरमा सुधार गरेको दाबी गरेका छन् । ‘मभन्दा अघि धेरै ठूलो समस्या थियो,’ उनले भने, ‘अहिले सुधार भएको छ ।’ उनले सुधार भएकै कारण अहिले सुदूरपश्चिममै उत्कृष्ठ प्रयोगशालाको अवार्ड समेत पाएको बताए । 

उनले करिव एक महिना आफूले समेत सोही केमिकल प्रयोग गरेको बताए । उनका अनुसार केमिकल बाह्य देशबाट मगाउनु पर्ने हुन्छ । उनले म्याद गुज्रिएको केमिकल प्रयोग गर्दा पनि बिरामीको रिपोर्टमा कुनै समस्या नदेखिएको बताए । उनले टेकु प्रयोगशालाबाट क्रस चेक गर्दा यस्तो देखिएको बताए । ‘टेकु प्रयोगशालाबाट ल्याएर चेक गरे । रिपोर्ट ठिकै देखियो,’ उनले भने, ‘ल ठिकै छ भनेर मैले पनि केही समय प्रयोग गरे ।’ 

टीकापुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष झपट सोडारीले प्रयोगशालामा भएको बदमासी स्वीकारेका छन् । उनले समेत तत्कालिन इञ्चार्ज ऐरले लापरबाही गरेको बताए । उनले आवश्यकताभन्दा बढी केमिकल मगाएर थुपारेका कारण म्याद गुज्रिएको बताए । 

‘कति मगाउने ? के मगाउने ? सबै उसैको जिम्मेवारी हुन्छ,’ उनले भने, ‘ऐरले लापरबाही गरेका कारण त्यस्तो समस्या आएको थियो ।’
निवर्तमान अध्यक्ष सोडारीको कार्यकाल ०८१ चैत १२ गते सकिएको छ । उनले अस्पतालको अवस्था सुधार गरेको दाबी गर्ने गरेका छन् । तर अस्पतालभित्र यस्ता कैयौं कमिकमजोरी हुने गरेको बताइएको छ । 

विगत लामो समयदेखि अस्पतालभित्र चिकित्सक र कर्मचारीहरुबीच गुटबन्दी रहेको बताइन्छ । केही व्यक्तिहरुले अस्पतालको विकासभन्दा पनि आफू अनुकुल काम गर्ने गरेको टीकापुर अस्पतालकै कर्मचारीको भनाई छ । यस बारेमा बुझ्न खोज्दा अस्पतालका मेसु डा. रेमकुमार राईसँग टेलिफोन सम्पर्क हुन सकेन । 
 

प्रतिक्रिया