टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सिकलसेल बिरामीका घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी सिकलसेल रोग भएका व्यक्तिहरुलाई निवेदन पेश गर्न माग गरेको छ ।
सार्वजनिक सूचना अनुसार यही जेठ १८ गतेभित्र निवेदन पेश गर्न भनिएको छ । निशुल्क स्वास्थ्य बीमाका लागि गाउँपालिकामा स्थायी बसोबास हुनुपर्ने बताइएको छ । गाउँपालिकाले यसका साथै प्रमाण खुल्ने कागजात वा रोग प्रमाणित भएको प्रयोशगाला रिपोर्ट, वडा कार्यालयको सिफारिस, चिकित्सकको प्रमाणित कागजात र नागरिकता, राष्ट्रिय परिचय पत्र, जन्मदर्ता समेत निवेदन साथ संलग्न हुनुपर्ने सूचनामा उल्लेख गरेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले एक जनाको बीमाले थप चारजनाको एक वर्षमा एक लाख रुपैयाँ बराबरको उपचार गर्न मिल्ने बताए । उनले स्वास्थ्य बीमा गरे वाफत लाग्ने रकम सिकलसेल बिरामीका हकमा गाउँपालिकाले भुक्तानी गरिदिने जानकारी दिए । सो सूचनामा सबै वडा कार्यालयहरुलाई सिफारिस गरिदिन र स्वास्थ्य संस्थाहरुलाई समन्वयका लागि पहल गरिदिन भनिएको छ ।
गाउँपालिकामा २६ जना सिकलसेल रोगका बिरामी छन । यो संख्या बढ्न सक्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिए । उनले स्वास्थ्य बीमा सहयोगी मार्फत थप बिरामीको पहिचानको पहल भइरहेको बताए । सिकलसेल अहिलेसम्म थारु समुदायका व्यक्तिहरुमा मात्रै देखिएको रोग हो । यो पश्चिम नेपालका कैलाली र कञ्चनपुरका धेरै व्यक्तिमा देखिएको छ ।
सरकारले सिकलसेल रोग भएका बिरामीहरुको लागि उपचार सुविधा प्रदान गर्दैै आएको छ । बिरामीहरु सरकारले प्रदान गर्दै आएको सुविधा प्रयाप्त नभएको गुनासो गर्दै आएका छन् ।
प्रतिक्रिया