धनगढी । नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाउन माग माग गरिएको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएसंगै आगामी आर्थिक वर्षदेखि नै अस्पताल र कलेज सञ्चालन गर्नुपर्ने माग गरिएको हो ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेको हो ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेका अनुसार विधेयक पारित भएसंगै स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट, जनशक्ति र उपकरणको व्यस्थापन गर्न आग्रह गरिएको हो ।
‘संघीय सरकारले जेठ १५ गते प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन हामीले माग राखेका छौं,’ पाण्डेले भने, ‘विधेयकमा व्यवस्था भएअनुसार पदाधिकारीहरुको नियुक्तिको प्रक्रिया पनि अगाडि बढाउनुपर्ने हाम्रो माग छ ।’
संघर्ष समितिले आगामी आर्थिक वर्षभित्रै चकित्सा शिक्षा (एमबीबीएस)को अध्यापनका लागि पनि सिट संख्या निर्धारणको प्रक्रिया अगाडि बढाइदिन माग गरेको छ । यस्तै, संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि ज्ञापनपत्र बुझाएको छ । विधेयक पारितमा भूमिका खेलेको भन्दै समितिले मुख्यमन्त्री शाहलाई धन्यवाद दिँदै विश्वविद्यालय सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ ।
प्रतिक्रिया