धनगढी । दुई दशकअघि भएको राजनीतिक परिवर्तनसंगै क्रमशः देशका अन्य संरचनामा परिवर्तन हुँदै आएको छ । केन्द्रीकृत शासन प्रणाली बिकेन्दृकरण भएको छ । सिंहदरबारमा एकपटक पनि पाइला टेक्न नपाएकाहरुले घर आगनमै सरकार पाएका छन् ।
आफैले आफ्ना जनप्रतिनिधि चुन्न पाएका छन् । समाजमा हेपिएका र बहिस्कृत परेकाहरु नीति निर्माण तहमा पुगेका छन् । तहअनुसारका सरकारले आफ्नो आर्थिक हैसियतअनुसार काम गरिरहेकै छन् । सक्दो प्रयत्न गरिरहेकै छन् । प्रदेश तहका सरकारहरु समयअनुसार सशक्त हुँदै गएका छन् ।
यद्यपि जुन ढंगले अगाडि बढ्नु पर्ने हो र जनताका अपेक्षा जुन तहमा थियो, त्योअनुसार अगाडि बढ्न नसकेको भने पक्कै हो । केही स्वार्थ समूह, केही थान नेतृत्वका अकर्मण्यताका कारण अलिकती बिकृती भने आएकै हो ।
तर, यहीँ कुरालाई लिएर व्यवस्थामाथि नै प्रश्न गर्नु उचित भने होइन । यहीँ व्यवस्थामा थुप्रै सम्भावना छन् । त्यसैले अबको बाटो भनेको खराब कुरालाई लत्याएर थप सुधार गर्दै यहीँ व्यवस्थालाई अगाडि बढाउनु नै हो । त्यसैअनुसार सुदूरपश्चिम् प्रदेशले ल्याउने आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि केही सुझावहरु यो आलेखमा उल्लेख गरिएको छ ।
शिक्षा क्षेत्रको सुदृढीकरण
प्रदेशको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरूलाई तालीम दिने उद्देश्यले शिक्षक प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनुपर्ने आवश्यक छ । शिक्षण पेशामा संलग्न सबै शिक्षकहरूलाई नियमित र अनिवार्य तालीममार्फत आधुनिक शिक्षण विधिबारे दक्ष बनाउनु पर्नेछ ।
फाग, मागल, धमारी, चैत, हुड्केली, सखिया, आइतबारी, होली र मागी लगायतका सुदूरपश्चिमका मौलिक पर्व र संस्कृतिबारे गहिरो अध्ययन र अनुसन्धानलाई प्रवद्र्धन गर्नुपर्नेछ । त्यसका लागी इच्छुक विद्यार्थीहरूले विश्वविद्यालय तहमा थेसिस लेख्न पाउने र त्यसका लागि प्रज्ञा प्रतिष्ठानको समन्वयमा प्रदेश सरकारबाट आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ ।
शिक्षा र रोजगारबीचको अन्तर हटाउन, विद्यार्थीहरूलाई सरकारी तथा निजी निकायहरूमा जोड्न, अनुभव विकास गर्न र देशप्रति जिम्मेवारीबोध गराउन सशुल्क इन्टर्नशिप कार्यक्रम ल्याउनु उपयुक्त हुन्छ । त्यसैगरी संस्कार र संस्कृतिको संरक्षण तथा प्रचार गर्न संस्कार, संस्कृत र संस्कृति सिकाउन धार्मिक पिठहरुमा गुरुकुल पाठाशालाको स्थापना गर्न उपयुक्त हुन्छ ।
पछिल्लो समय केही सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दै गइरहेको बेला टुक्रे आकारमा बजेट छुट्याउनुको सट्टा विद्यालय मर्ज गरी आवासीय विद्यालयको संरचमामा जान सकिन्छ । यो कार्यक्रम हाललाई नमुनाका रुपमा एक जिल्ला एक आवासीय विद्यालयको स्वरुपमा जान सकिन्छ ।
स्वास्थ्य सेवामा सहज पहुँच
प्रदेश मातहतका प्रादेशिक अस्पतालहरुलाई डिजिटलाइजमा गर्दै अनलाइनका माध्यमबाट अस्पतालहरुमा देखिने गरेको अव्यवस्थित भिड कम गर्न सकिन्छ । अस्पतालमा निशुल्क उपलब्ध हुने औषधि लगायतका सुविधा सहज प्राप्त गर्न नियमित अनुगमनको व्यवस्था आवश्यक छ ।
न्यूरो, जलन र मुटुका बिरामीहरु सामन्य भए सोही स्थानमा उपचार गर्न र गम्भीर प्रकृतिका भए सुविधा सम्पन स्थानमा पु¥याउन्जेल सम्मका लागि प्रादेशिक अस्पतालहरुमा छुट्टै वार्डको व्यवस्था गर्न जरुरी छ ।
महिला शसक्तीकरण र ज्येष्ठ नागरिकको सम्मान
महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूलाई उद्यममा सहभागी गराउन प्रोत्साहन गर्न जरुरी छ । प्रदेश सरकारले अनुदान तथा सहुलियत ऋणको व्यवस्था गर्न पर्दछ । त्यसमा पनि एकल महिलाहरुलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।
ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँचलाई सहज बनाउन अस्पतालसम्म पुग्न प्रादेशिक अस्पतालको सहकार्यमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन सकिन्छ ।
कृषिमा आत्मसम्मान र समुन्नति
आजका दिनसम्म पनि कृषि पेसालाई सम्मानित पेशामा विकसित गर्न सकिएको छैन । त्यसैले कृषि पेशालाई सम्मानित पेसा बनाउने कार्यक्रम ल्याइनुपर्छ ।
कृषि पेसामा आबद्धलाई प्रोत्साहन गर्न करेसाबारी तथा खेतबालीमा क्षति पु¥याइरहेका छाडा चौपायालाई व्यवस्थित गर्न आधुनिक गौशाला स्थापना गरी सहकारीहरूको माध्यमबाट सञ्चालन गर्दै व्यवसायिक रुपमा विकास गर्न सकिन्छ ।
कृषि अनुदान पारदर्शी, उद्देश्य केन्द्रित र प्रभावकारी बनाइनु पर्छ । उत्पादनलाई सुनिश्चित बजार दिने व्यवस्था, उचित मूल्य र किसानलाई समयमै मल, सिँचाइको सुनिश्चितता गरिनु पर्छ । कृषि उत्पादनलाई लामो समयसम्म उपयोग गर्न पहाडी जिल्लामा कम्तिमा दुई र तराइका जिल्लामा कम्तिमा दुई शीत भण्डारलाई सुरुवातमा नमुनाको रुपमा स्थापना गर्न सकिन्छ ।
प्रदेशमा हाल संचालनमा रहेका निजी र सरकारी दुबै ठुला कृषि फर्मलाई अनुसन्धान र सिकाइ केन्द्रका रुपमा उपयोग गर्न सकिन्छ ।
युवा र खेलकुदमा लगानी
पछिल्लो समय सुदूरपश्चिममा लागूऔषधको दुरुपयोग युवामाझ गम्भीर समस्याका रुपमा देखा परेको छ । त्यसलाई रोक्नका लागि अभिमुखीकरण कार्यक्रम, अनुसन्धान तथा सुधारात्मक गतिविधिहरू सञ्चालन गर्नुपर्छ ।
आजको आवश्यकता भनेको युवालाई उत्पादन र उत्पादनलाई बजारसंग जोड्न जरुरी छ । त्यसका लागि युवाहरूमा रहेको उत्साह र लगावलाई सही दिशा दिन स्टार्टअप फन्डको स्थापना गरी पारदर्शी ढंगमा संचालन गर्न आवश्यक छ ।
देश वा विदेशबाट फर्केका दक्ष युवाहरूलाई आर्थिक गतिविधिमा जोड्न “रिटर्नी बैंक” स्थापना गरेर उनीहरूको सीप र पूँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ ।
संस्कृति तथा पर्यटनको प्रवद्र्धन
सात देवी बैनीहरूको धार्मिक आस्था र महत्वलाई उजागर गर्दै ती क्षेत्रहरूलाई धार्मीक आस्थाका गन्तव्यमा रूपान्तरण गर्नुपर्छ । यसबाट भारतीय धार्मिक पर्यटकहरूलाई आकर्षण गर्न सकिनेछ । यसका माध्यमबाट सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिन्छ ।
सुदूरपश्चिमका अन्य धार्मिक स्थलहरूमा ज्येष्ठ नागरिकका लागि सहुलियत दरमा र अन्य नागरिकका लागि पालिकासँग समन्वय गरी तीर्थयान सेवा सञ्चालन ल्याउन सकिन्छ ।
खप्तड, बडीमालिका अपि हिमालको पैदल यात्राको फरक फरक रुट बनाएर यात्राको अवधि र सहुलियतका कार्यक्रम घोषणा गर्न सकिन्छ ।
श्रम र श्रमिकप्रति सम्मान तथा सहुलियत
यातायात र निर्माण क्षेत्रका श्रमिकहरूलाई मजदुर परिचय कार्ड वितरण गरी दुर्घटना वा गम्भीर रोगको अवस्थामा निश्चित रकम उपचारका लागि उपलब्ध गराउँदा श्रम र श्रमिकप्रतिको सम्मान उजागर हुन्छ ।
अटो रिक्सा चालकहरूलाई स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउन आबश्यक छ । प्रदेश अस्पतालहरूका सरसफाइकर्मीहरूको मनोबल बढाउन केही प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ ।
प्रतिक्रिया