सुदूरपश्चिमको राजनीतिक वृत्तमा लेखराज भट्ट परिचित नाम हो । नेपाल कम्युनिस्ट पार्टी एमालेका निर्वाचित केन्द्रीय उपमहासचिव भट्ट चार पटक नेपाल सरकारको मन्त्री भइसकेका छन् । कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलनबाट उदाएका पूर्वमन्त्री भट्ट शालीन, भद्र, सभ्य र इमान्दार राजनीतिज्ञको रुपमा चिनिन्छन् । माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा महत्वपूर्ण भूमिकामा रहेका भट्ट विस्तृत शान्ती सम्झौता पश्चात् अन्तरिम संसद हुँदै संविधानसभाको निर्वाचन २०६४ र प्रतिनिधीसभाको निर्वाचन २०७४ मा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । पटकपटक मन्त्री हुँदा वा लाभको पदमा रहँदा कुनै किसिमको भ्रष्टाचारको आरोप नलागेका नेताको छाप छोड्न सफल लेखराज क्रान्ति र आन्दोलनबाट खारिएर आएका नेताको रुपमा चिनिन्छन् ।
नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा एकता केन्द्र हुँदै नेकपा माओवादीको केन्द्रीय सदस्य र पोलिटव्युरो सदस्य समेत भइसकेका भट्ट नेकपा विभाजनपछि नेकपा एमालेतर्फ लागे । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिव पदमा निर्वाचित भएका उनी सुदूरपश्चिम प्रदेशको इन्चार्जसमेत छन् । भर्खरी सम्पन्न ११औं महाधिवेशनबाट उनी महासचिवमा सर्वाधिक मतसहित विजयी भएका छन् ।
नेपालको संविधान २०७२ निर्माण हुँदा प्रदेशको सिमाङ्कनका विषयमा लेखराज भट्टले राखेका विचार र पार्टीमा लिएका अडानहरु समग्र सुदूरपश्चिम प्रदेशको विकास, सम्वृद्धि, सामाजिक साङ्स्कृतिक एकता र भौगोलिक अखण्डताको लागि महत्वपूर्ण र ऐतिहासिक छन् । त्यसबखत उनले प्रस्तुत गरेका विचार र तर्कहरु सुदूरपश्चिमको भविष्यका आधार स्तम्भ हुन् । पार्टी नीतिभन्दामाथि उठेर विभिन्न जोखिम मोल्दै सुदूरपश्चिमको विकासका लागि उठान गरिएका मुद्दाहरु वास्तवमै महत्वपूर्ण छन् ।
मन्त्री हुँदा वा संसदमा रहँदा सुदूरपश्चिमको विकासको लागि ल्याइएका र प्रस्ताव गरेका विभिन्न योजनाहरु अहिले कार्यान्वयनको प्रक्रियामा छन् । गेटा मेडिकल कलेज, धनगढी–अत्तरिया ६ लेन सडक, दैजी छेला औद्योगिक क्षेत्र, हरैया विशेष व्यापार क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र, दोधरा चाँदनी सुख्खा बन्दरगाह, धनगढी अत्तरिया औद्योगिक करिडोर, धनगढी दिपायल द्रुत मार्ग जस्ता सुदूरपश्चिमको विकास र सम्वृद्धिमा प्रभाव पार्ने योजना र कार्यक्रमहरुको अवधारणाकर्ता र पहलकर्तामध्ये लेखराज पनि हुन् । निष्ठा र सिद्धान्तको राजनीति गर्न रुचाउने भट्ट अध्ययनशील र भलाद्मी राजनीतिज्ञको रुपमा पनि चिनिन्छन् । सुदूरपश्चिमको विकास र सम्वृद्धिको लागि उनको राजनीतिक सक्रियता र संसदमा उपस्थिति आवश्यक ठानिन्छ ।
बाल्यावस्था र पारिवारिक पृष्ठभुमि
२०१६ साल चैत्र ११ गते जोरायल गाउँपालिका–५ गडसेरा, शैलकोटीलामा पिता दशरथ भट्ट र माता दुर्गादेवी भट्टको दोस्रो सन्तानको रुपमा जन्मिएका लेखराजको बाल्यावस्था गाउँकै सामान्य परिवेशमा बित्यो । मध्यम वर्गिय परिवारमा जन्मिएका भट्टले बाल्यवास्थामा त्यस्तो बोझिलो काम गर्नु परेन । गडसेराकै तत्कालिन नवकोट प्राथमिक विद्यालय (हालको नवोदय माध्यमिक विद्यालय) बाट औपचारिक शिक्षाको श्रीगणेश गरेका भट्टले बिएसम्मको अध्ययन गरेका छन् ।
थप पढाइको लागि डोटीकै उच्चाकोट वा सिलगढी जानुपर्ने बाध्यता थियो । २०२७ सालमा काठमाण्डौंस्थित सिद्धार्थ बनस्थली विद्याश्रममा उनले दुई वर्ष अध्ययन गरे । ठ कक्षा उत्तिर्ण गरिसकेपश्चात् फपिंङ्मा रहेको त्रिभुवन आदर्श माविमा कक्षा ९ मा भर्ना भए । सोही विद्यालयबाट २०३३ सालमा एसएलसी उत्तिर्ण गरे । त्यसपछि उच्च शिक्षाको लागि भारत गए । इलाहवाद बोर्डबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा प्रमाणपत्र तहको शिक्षा पुरा गरी कानपुर विश्वविद्यालयबाट राजनीति र इतिहास विषयमा स्नातक उत्तिर्ण गरे ।
लेखराजका पिता दशरथ भट्ट तत्कालिन समयका कहलिएका सामाजिक अभियन्ता र राजनीतिक चेत भएका व्यक्ति थिए । राणा शासनको अन्त्य गर्न नेपाली काँग्रेसले सञ्चालन गरेको जनक्रान्ति सफल पार्न दशरथ भट्टको महत्वपूर्ण भूमिका थियो । २०१५ सालमा सम्पन्न भएको पहिलो निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन डोटीमा उनको अतुलनीय योगदान रहेको थियो । स्व. दशरथ भट्ट औपचारिक रुपमा धेरै शिक्षा नलिएता पनि सामान्य कानुन बुझेका, प्रशासन र राजनीति बुझेका व्यक्ति थिए । त्यसैले गाउँ समाजमा राजनीतिक चेतना जगाउन होस् वा झै–झगडा, मुद्दा मामिला मिलाउनमा स्व।दशरथ भट्टको भूमिका महत्वपूर्ण हुन्थ्यो ।
समाजमा हुने गरेका थिचोमिचो, अन्याय, अत्याचारका विरुद्ध आवाज उठाउन हिम्मत गर्ने एक साहसी निडर, आत्मविश्वासी व्यक्तिका रुपमा दशरथ भट्टलाई सबैले चिन्दथे । अध्यात्मवादको अध्ययन गरेका, ज्योतिषशास्त्र, वेद जस्ता विविध पक्षमा रुची राख्ने उहाँ २००७ सालमा तत्कालिन डोटी गौँडाको वैदार थिए । २००७ सालभन्दा पहिले सत्ती भन्सारको सुवेदार थिए । त्यसैले गडसेरामा उनलाई ‘सुवेदार’ वा ‘सुब्दार’ भनेर सबैले चिन्दथे । त्यहि सुवेदारको पुत्ररत्नका रुपमा लेखराज भट्टको जन्म भएको थियो ।
लेखराज भट्टका बाल्यकालिन दौँतरीहरुमा शैलकोटिलाका चेतराज भण्डारी, परमधन भण्डारी, शिवराज भण्डारी, देवराज भट्ट, ईश्वरी भण्डारी र बाहुनगाउँका डिल्लीराज जोशी एवम् नेत्रराज जोशी हुन् । उनीहरु सँग नवकोटमा सङ्गै पढेको खेलेको यादहरु अहिले पनि लेखराज भट्टको मानसपटलमा झल्झली आइरहन्छन् ।
राजनीतिक यात्रा र संघर्ष
पिता काँङ्ग्रेसको राजनीतिमा सक्रिय भएता पनि लेखराज भट्ट कम्युनिस्ट विचारधारा र दर्शनबाट प्रभावित थिए । राजनीतिक संस्कार र वातावरणमा हुर्के, बढेका कारण बाल मस्तिष्कमै राजनीति प्रतिको आकर्षण वा प्रभाव परेको त होइन भन्ने प्रश्न उठ्न जान्छ । तथापी त्यो कुरा अस्वीकार गर्न सकिन्न । पिता दशरथ भट्टको क्रान्तिकारी विचार, सामाजिक भावना, अन्याय अत्याचारका विरुद्ध बोल्न र लड्न सक्ने दरिलो छाती र आँटको प्रभाव छोरा लेखराजमा पर्न गएको कुरा मान्न पनि सकिन्छ । लेखराज जन्मिदाँ नेपालमा प्रजातन्त्र उदय भएर हुर्किरहेको थियो । तर जब लेखराज हुर्कदै थिए, राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर पञ्चायती शासन व्यवस्थाको जग हालिसकेका थिए । त्यही पञ्चायती शासन व्यवस्था हुर्कदै, झाङ्गिदै जाँदा लेखराज भट्टको राजनीतिक चेतना पनि विस्तारै फराकिलो हुँदै थियो । काठमाडौँको बनस्थली विद्याश्रममा अध्ययन गर्दै गर्दा नेपालको राजनीतिको हावाले उहाँलाई पनि स्पर्श नगरी छोडेन ।
वि।संं।२०२८ सालतिर हुनुपर्छ, सिद्धार्थ बनस्थली विद्याश्रममा अध्ययन गर्दै गर्दा कम्युनिष्ट दर्शनबाट प्रभावित विद्यार्थी नेता प्रेम कैदीसँग लेखराज भट्टको सम्पर्क हुन्छ, परिचय हुन्छ । त्यतिबेला प्रेम कैदी ‘कर्णाली हित परिषद्’ मा आवद्ध हुनुहुन्थ्यो । उहाँको प्रभाव र सङ्गतले लेखराज भट्ट पञ्चायती शासनका विरुद्ध आवाज उठाउने अभियानमा जोडिन प्रेरित हुनुभयो । यसरी भर्खरको किशोर मनमा कम्युनिष्ट विचारधारा र दर्शनले जरा गाड्ने ठाउँ पाउँछ ।
वि।संं।२०३३ सालमा राजनीतिक दलहरु प्रतिबन्धित भएकै अवस्थामा लेखराज भट्टले कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्न सफल हुनुभयो । उहाँको सक्रियता बढ्दै गयो । वि।सं।२०३६ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनमा जिल्ला कमिटीको सचिवालय सदस्यको रुपमा जिम्मेवारी बढ्दै जान्छ ।
२०३८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैटौँको कैलाली जिल्ला अध्यक्ष बनेका भट्ट त्यसैवर्ष केन्द्रीय सदस्य बन्न सफल भए । राजनीतिक सक्रियता र पदिय जिम्मेवारी बढ्दै गयो । २०३७ सालमा लेखराज भट्ट अखिल नेपाल युवक संघको केन्द्रिय सदस्य बने । त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसको अध्यक्ष थिए । २०४० सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रिय सदस्य बने भने २०४१ सालमा नेपाल कम्युनिष्ट पार्टीको क्षेत्रीय व्युरो सदस्य बने ।
२०४२ सालमा नेपाल कम्युनिस्ट पार्टी ’मसाल’ फुटेर दुई समूहमा विभाजन भयो । जसमा नेपाल कम्युनिस्ट पार्टी मशालको नेतृत्व मोहन वैद्य ‘किरण’ ले गरे । जसलाई ‘मोटो मशाल’ भनिन्थ्यो । अर्कोतर्फ निर्मल लामाले नेपाल कम्युनिस्ट पार्टी मसालको नेतृत्व गरे । जसलाई पातलो मसाल भनिन्थ्यो । लेखराज भट्ट मोटो मशालतर्फ मोडिए । जुन समहूमा प्रचण्ड पनि थिए । २०४६ सालमा नेपाल कम्युनिस्ट पार्टी मशालको डोटी जिल्ला सेक्रेटरी बनेका भट्ट त्यसअघि कैलाली र कञ्चनपुर जिल्लाको पनि जिल्ला सेक्रेटरी भइसकेका थिए ।
२०४८ सालमा नेकपा मसालको नाम परिवर्तन भएर नेकपा एकता केन्द्र रहन गयो । २०५० सालतिर नेकपा मसाल विभाजन हुन पुग्यो । जसबाट नेकपा माओवादी पार्टीको जन्म भएको मानिन्छ । २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीले सशस्त्र संघर्षको शङ्खघोष गरी सकेपश्चात् नै भूमिगत राजनीतिमा युद्धको बाटोमा मोडियो । २०५२ यता पार्टीले दिएका विभिन्न जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्नेमा लेखराजको पनि नाम आउँछ ।
२०५७ सालमा भारतको पञ्जावमा सम्पन्न भएको नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट लेखराज भट्ट केन्द्रीय सदस्य बने । त्यसैगरी २०६० सालमा उनी पार्टीको सेती महाकाली व्युरो इन्चार्ज भए । त्यसपछि २०६०÷०६१ तिर नै उनी पार्टीको पोलिटब्युरो सदस्य भए । २०६२÷०६३ को जनआन्दोलनको सफलता पश्चात् नेकपा माओवादी पार्टी शान्ति प्रक्रियामा आइसकेपछि लेखराज भट्ट स्थायी समिति सदस्य भए । २०६४ सालको चैत्र २८ गते सम्पन्न संविधान सभाको निर्वाचनमा नेकपा माओवादी पार्टी उम्मेदवारको रूपमा तत्कालीन कैलाली क्षेत्र नम्बर ५ बाट विजयी हुँदै लेखराज भट्टको संसदीय राजनीतिक यात्रा सुरु भयो । तर २०७० मंसिर ४ गते सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा भने लेखराज भट्ट नेपाली कांग्रेसका नेता दीर्घराज भाटसँग पराजित भए ।
संविधानसभाको पहिलो निर्वाचनपश्चात् २०६५ भाद्र २ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ’प्रचण्ड’ को नेतृत्वमा गठित मन्त्रीपरिषद्मा लेखराज भट्ट श्रम तथा यातायात मन्त्री थिए । २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले मन्त्रीमण्डलमा हेरफेर गर्दा लेखराज भट्ट विज्ञान तथा प्रविधि मन्त्री बने । झलनाथ खनालको मन्त्रीमण्डल विगठन भई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा २०६८ भाद्र १२ गते नयाँ सरकार गठन भयो । जुन मन्त्रीमण्डलमा लेखराज भट्ट वाणिज्य तथा आपूर्ति मन्त्री थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त गठबन्धन गरी भाग लिएका थिए । जुन निर्वाचनमा दुवै पार्टीले प्राप्त गरेको सिटको आधारमा प्रतिनिधिसभामा दुई तिहाई मत पुग्यो र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो । २०७५ जेठ ३ गते माओवादी केन्द्र र एमाले एकीकरण भएर नेकपा बन्यो । २०७६ मंसिर ४ गते केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दा लेखराज भट्ट चौथो पटक मन्त्री बन्न सफल भए । २०७६ मंसिर ४ देखि २०७८ जेठ ६ गतेसम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारीमा सम्हाले ।
विभिन्न आन्दोलनमा लेखराज भट्टको भूमिका
२०२८ सालदेखि विद्यार्थी राजनीतिमार्फत नेपाली कम्युनिस्ट आन्दोलनमा होमिएका लेखराज भट्ट नेपालमा प्रजातन्त्र प्राप्ति पश्चात् भएका प्रत्येक आन्दोलन र राजनीतिक क्रान्तिसङ्ग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिदै आए । पञ्चायती शासन व्यवस्थाका विरुद हुने गरेका आन्दोलन सँगै माथि उठेका भट्ट २०३७ सालको जनमत सङ्ग्रह र २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न भए । २०३६ साल वैशाख २० गते सरकारले जनमत सङ्ग्रहको घोषणा गरीसके पश्चात् लेखराज भट्ट पनि बहुदलको पक्षमा खटेर लागे ।
दलहरु प्रतिबन्ध भएको अवस्थामा धनगढीमा ‘जनपक्षिय बहुदलिय प्रचार प्रसार समिति’ गठन गरी बहुदलका पक्षमा जनमत जुटाउन रातदिन लाग्नुभयो । धनगढीको मेनरोडमा रहेको जयराज भण्डारीको घरमा कार्यालय स्थापना गरी बहुदलका पक्षमा जनमत जुटाउन गाउँगाउँ सम्म हिडे । त्यो अभियानमा यज्ञराज भट्ट, डम्मर जोशी, रामचन्द्र भट्ट, जयराज भण्डारी, जोगीसिंह विष्ट, डिल्लीराज भट्ट, कालीचरण चौधरी लगायतको युवा समूह सक्रिय थियो ।
२०३८ सालमा विद्यार्थीको राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै गर्दा लेखराज भट्ट पक्राउ परे छ महिना जति काठमाडौंको भद्रगोल जेलमा थुनिए । २०४२ सालमा काठमाडौंमा भएको शिक्षक आन्दोलनमा अग्र मोर्चामा आन्दोलनमा सक्रिय हुँदै गर्दा पक्राउ परे । आठ दिनसम्म शारीरिक यातना सहेर छुटे । २०४२ सालको बमकाण्ड घटनाको शंकाको घेरामा पनि लेखराज भट्ट परे । सरकारको मोष्ट वान्टेटको सूचीमा परे । जसले गर्दा उनले लुकीलुकी अर्धभूमिगत जीवन जीउनु पर्ने वाध्यता सिर्जना भयो ।
२०४६ सालको जनआन्दोलनमा अर्धभूमिगत भएर प्रजातन्त्र पुर्नस्थापनाको आन्दोलनमा धनगढीमै रहेर सक्रियतापूर्वक लागेका लेखराज भट्ट त्यतिबेला मशालको कैलाली जिल्ला कमिटी सदस्य थिए । २०४८ सालमा सम्पन्न भएको निर्वाचनमा लेखराज भट्ट कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सांसदको उम्मेदवारको रुपमा उठे । त्यतिबेला कैलालीमा तीन ओटा निर्वाचन क्षेत्र थिए । क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट गणेश शोव घिमिरे र नेपाली काङ्ग्रेसको तर्फबाट बलबहादुर कुँवर उम्मेदवारको रुपमा प्रतिस्पर्धा गर्दै थिए । लेखराज भट्ट पनि पार्टीको उपयोगको नीति अनुरुप उक्त प्रतिस्पर्धामा सामेल भए । तर पराजित भए । २०४९ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा ‘निर्वाचन अपराध ऐन’ अन्तर्गत रहेर लेखराज भट्टलाई गेटाबाट गिरफ्तार गरी १५ दिनसम्म हिरासतमा राखियो । त्यसै मुद्दाको २ वर्ष तारिख बोक्नु प¥यो र पछि अदालतबाट सफाई पाए ।
जीवन सङ्गीनीको नजरमा लेखराज भट्ट
२०२१ सालमा लेखराज भट्टको परिवार कैलालीको अत्तरिया सरिसकेको थियो । २०३५ सालमा १९ वर्षको उमेरमा कञ्चनपुर, निम्मुखेडा निवासी बलदेव लेखककी १६ वर्षीय छोरी निर्मला लेखकसँग मागी विवाह हुन्छ ।
२०३५ सालमा विवाह बन्धन बाँधिएका लेखराज भट्टका जीवनमा, जीवनसङगीनी निर्मला लेखक भट्टको महत्वपूर्ण भूमिका रहेको भट्ट बताउँछन् । निर्मला लेखक भट्टले आफ्ना पति लेखराज भट्टलाई एक साहसी, निडर, क्रान्तिकारी, दुरदर्शी राजनैतिक व्यक्तिको रुपमा भेट्टाँउछिन् भने पतिको रुपमा मनको भावना बुझ्ने बोलीको पक्का, विश्वासिलो व्यक्तिको रुपमा लिन्छिन् । उनको बुझाईमा लेखराज भट्ट परिश्रमी, चलाख र कुशल व्यवस्थापकीय क्षमता भएको एक कर्तव्यनिष्ठ व्यक्ति हुन् । काम गर्ने तर त्यसको प्रचारप्रसार गर्नमा रुची नराख्ने स्वभावका कारण उनले गरेको कतिपय महत्वपूर्ण कार्यहरुको चर्चा नहुने तथा त्यसको जश अरुले नै लिने गरेको गुनासो छ निर्मला भट्टसँग ।
यस्तो स्वभावलाई आफ्ना पतिको कमजोरीको रुपमा स्वीकार्छिन उनी । आफ्ना व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर देश र जनताको भलोका खाँतीर ज्यानको परवाह नगरी आन्दोलनमा होमिएका लेखराज भट्टलाई जनताका दुःखहरुले बिजाउँदो रहेछ । मध्यम परिवारमा जन्मी हुर्की गरिब र अधिकारबाट बञ्चित भएका जनताको हक अधिकार र सम्बृद्धिका लागि घरपरिवार त्यागी भूमिगत जीवन जिउँदा होस् वा खुकुरीको धारमा ज्यान राखी जनयुद्ध लड्दै गर्दा थुप्रै पटक मृत्युको मुखमा पुगेर बचेका छन् । जसलाई उनी भगवानको कृपाको रुपमा लिन्छिन् । निर्मला भट्टको नजरमा लेखराज भट्ट आफ्ना व्यक्तिगत दुःख पिडाहरु लुकाउने व्यक्तिका रुपमा छन् ।
भाग्यले बाँचेका लेखराज भट्ट
जीवनलाई खुकुरीको धारमा राखी जनयुद्धमा होमिएका लेखराज भट्ट धेरै पटक मुस्किलले बाँचेका छन् । हुन त आफ्नो ज्यानको माया नमानी देश र जनताको मुक्तिका खातिर युद्धमा हिँडिसकेपछि मर्नु त थियो नै । तर पनि धेरै पटक मृत्युको मुखैमा पुगेर बाँच्न सफल भएको अनुभव छ उनीसँग ।
२०५४ सालमा पार्टीको कामको शिलशिलामा भारतमा रहँदा जीप दुर्घटनामा परी रिडको हड्डीमा समस्या देखियो र दुई वर्ष बेड रेष्ट गर्नुपरेको थियो । तर पछि अलिकति सन्चो भएर भुमिगत भएर युद्धको मोर्चामा लागे । अहिले पनि त्यहि घटनाको असर बल्झीराख्छ ।
२०५८ सालमा डोटीको छेडामा भएको तत्कालिन शाही सेनासँगको दोहोरो भिडन्तमा भाग्यले बाँचेको ठान्छन् भट्ट । शाही सेनाले चारैतिरबाट घेरा हाली हवाई फायरिङ गरेर थुप्रै माओवादी सेनाको हत्या गरिसकेको थियो । जिवन र मरणको दोसाँधमा बाँच्ने कुनै आशा थिएन । तर भाग्यवस सानो थुम्कोमा लुकेर बस्दा त्यहाँबाट बच्न सफल भएको उनको भनाई छ । त्यो घटनामा ज्यान त बच्यो तर युद्धको उपहार स्वरुप आँखाको चोट लिएर बाँचनुपरिरहेको छ । त्यो घटनामा शरीरका विभिन्न ठाउँमा गोलीका छर्राहरु लागेको र जसको असर अहिले पनि देखिरहन्छ । खुट्टामा लागेको चोटका कारण हिँडडुल गर्न पनि समस्या देखिन थालेको उनी बताउँछन् ।
क्रान्ति र आन्दोलनबाट खारिएर आएको कारण जीत र हारलाई स्वाभाविक मान्छन् भट्ट । तर पनि संसद र सरकारमा आफू नहुँदा आफूले उठान गरेका विकास र समृद्धिका योजना र कार्यक्रमहरू कतै तुहिने त होइनन् भन्ने चिन्ता छ उनको छ । आफूले सुरु गरेका कतिपय योजनाहरू कार्यान्वयनको चरणमै रहेकोले आवश्यक बजेट विनियोजन नहुने त होइन भन्ने चिन्ता पनि छ । तर, पनि आफूले सुरु गरेका थुप्रै योजना र कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि सधैँ दबाब दिइरहने उनी बताउँछन् ।
प्रतिक्रिया