ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जेनजीको सत्ता प्रयोग र मुलुकको दिशाहीनता

मङ्गलबार ०९, मङि्सर २०८२ ११:०२

जेनजी पुस्ताले नेतृत्व गरेको अहिलेको सरकारले ऐतिहासिक जिम्मेवारी बोकेको दाबी गरिरहेको छ। एकातिर आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन गराउनु छ, अर्कातिर मुलुकमा सुशासनको आधार निर्माण गर्नुपर्ने छ। राजनीतिक संक्रमण, अस्थिरता र अविश्वासको कालखण्डबीच जन्मिएको यो सरकारले प्रारम्भदेखि नै ठूलो ध्यान आकर्षित गर्यो। परिवर्तनप्रति आस्था राख्नेहरूका लागि यो एउटा नयाँ सुरुवातको संकेत थियो। परम्परागत दलहरूको दशकौँ लामो असफलता भन्दा हटेर नयाँ पुस्ताले केही फरक मार्ग खोलिदिने हो कि भन्ने आशा थियो। तर बिस्तारै सरकार र जेन–जी समूहको गतिविधि मुलुकको हितभन्दा बढी शक्ति–प्रयोग, प्रतिक्रियात्मक निर्णय र भावनात्मक नारामा सीमित हुँदै गएको देखिन थाल्यो।

सुरुमा यो समूहले परिवर्तनका नारासँगै स्थापित दलका सीमाहरू भत्काउने तर्क अघि सारे। परम्परागत नेतृत्वको ‘जिम्मेवारीहीनता’ लाई उनीहरूले आफ्नो उदयको मुख्य आधार बनाएका थिए। “नयाँ पुस्ता शासनमा आएपछि नैतिकता, पारदर्शिता र क्षमता स्थापित हुन्छ” भन्ने लोकप्रिय मनोविज्ञानलाई उनीहरूले सफलतापूर्वक प्रयोग गरे। तर शासनमा पुगेपछि चुनौतीको वास्तविक रूप स्पष्ट हुन थाल्यो, राज्य चलाउन कौशल, संयम, संस्थागत तयारी र वैचारिक स्पष्टता अपरिहार्य रहेछ। जेनजी टोलीको कमजोरी एउटै ठाउँमा सीमित छैन; यो संरचनागत, वैचारिक र नेतृत्वगत तीनै तहमा देखिन थाल्यो।

अभियान र आन्दोलनमा सफल देखिएका जेनजी टोली निर्णय, नीति र प्रशासनमा पुगेपछि अस्थिर तथा अव्यवस्थित देखिनु नै मूल समस्या भयो । उनीहरूका गतिविधि बेला–बेलामा जनताको अपेक्षासँग नजुध्ने मात्र होइन, राज्यका संवैधानिक अंगहरू कमजोर पार्ने जोखिम पनि बोकिरहेका छन्। संरचनागत सुधारभन्दा भावनात्मक भाषण हावी हुने, नीति निर्माणभन्दा जनआकर्षक प्रदर्शनलाई प्राथमिकता दिने, राष्ट्रहितभन्दा स्व–हितपरक शक्ति–दाबलाई अगाडि सार्ने प्रवृत्ति विस्तारै बलियो हुँदै गइरहेको छ।

यसबीचमा निर्वाचनको घोषणा भने उनीहरूको सबैभन्दा ठूलो उपलब्धि जस्तै प्रस्तुत गरियो। तर चुनाव केवल सरकारको मूल दायित्वको एउटा अंश हो, शासन र दीर्घकालीन स्थायित्व त अझ ठूलो जिम्मेवारी हो। जेनजी समूहले बनाएको सरकारले “हामीले चुनाव गराउँछौं” भन्दै गरिएको गर्वपूर्ण प्रस्तुति वास्तवमै निकै संकुचित दृष्टिकोण थियो, किनकि चुनाव सञ्चालन हुनु सरकारको सामान्य दायित्व हो, असाधारण उपलब्धि होइन। जनता अपेक्षा गरिरहेकै कुरा हो—विश्वसनीय, कायमै रहने, सक्षम शासन।

यता सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रणालीगत सुधारका क्षेत्रमा सरकार विशेष सक्रिय देखिएन। केही ‘दृश्यात्मक’ कदमहरू स्वीकृत भए पनि नीति, कानुन र प्रवर्तनका तहमा वास्तविक परिवर्तन ल्याउने खालका काम भएनन्। बेरोजगारी, आर्थिक मन्दी, वैदेशिक पूँजी पलायन, युवा निर्यात, सरकारी अकुशलता र राजनीतिक अस्थिरताले जनताको भरोसा झन् कमजोर बनाइदै छ । यसैबीच सरकार र जेनजी समूहका केही गतिविधि देशको हितविपरीत असर पार्न थाले।

पहिलो समस्या उनीहरूको शक्ति–प्रयोग एक्लै केन्द्रित हुँदै जानु हो । जेन–जी पुस्ताले परम्परागत दलहरूले जस्तै “सत्ता नै मुख्य लक्ष्य” बनाएको आरोप बढ्दै गयो। स्थानीय संरचना, प्रदेश सरकार, संघीय संयन्त्र, प्रशासनिक निकाय—सबैमा “आमूल परिवर्तन” को नाममा हस्तक्षेप देखिन थाल्यो। तर परिवर्तनको परिकल्पना नै अस्पष्ट। यसले संस्थागत स्थायित्वलाई नै शंकाको घेरामा पुऱ्यायो। राज्यका अंगहरू प्रभावमा तानिन थालेपछि शासनको विश्वसनीयता कमजोर हुने नै थियो।

दोस्रो समस्या भावनात्मक राजनीतिकरण। जेनजी समूहले आफूलाई ‘परिवर्तनको प्रतीक’ भनेर स्थापित गरिरहेको छ तर निर्णयहरू गम्भीर जिम्मेवारीभन्दा पनि सामाजिक मिडियाको लोकप्रियताले प्रभावित भएको संकेत बारम्बार देखा पर्‍यो। नीतिगत अनुसन्धान, अध्ययन, वैकल्पिक योजना वा वित्तीय आधारबिनै निर्णय लिइनु, विज्ञहरूको सुझाव बेवास्ता हुनु, अस्थिर राजनीतिक गठबन्धन र बढ्दो प्रतिक्रियावादी शैलीले राज्य सञ्चालनलाई ‘प्रयोगशाला’ जस्तै बनाइरहेको छ।

तेस्रो समस्या अन्तरसंस्थागत अविश्वास। न्यायालय, सुरक्षा निकाय, स्वायत्त आयोग, संविधानिक निकायहरूकामाथि अनावश्यक टिप्पणी, आक्षेप र दाब–दवाबले संस्थाहरू बीचको दूरी बढेको छ। जेनजी समूहले परम्परागत राजनीतिक नेताको आलोचनालाई नै शासन शैली बनाएको आभास दिन थालेपछि प्रणालीभित्रै भ्रमको स्थिति सिर्जना हुन थाल्यो।

चौथो समस्या आर्थिक संकेतहरूको प्रतिकूलता। विदेशबाट हुने रेमिटेन्सले देश टिकी रहेको अवस्थामा सरकार आर्थिक स्थायित्वका विषयमा संवेदनशील देखिएन। योजनाबद्ध लगानी, रोजगारी सिर्जना र निजी क्षेत्रसँगको समन्वयमा सक्रियता कम भयो। आर्थिक प्रशासनमा अस्थिर सन्देश गइरहेकाले लगानीकर्ताको मनोविज्ञान कमजोर भएको तथ्य पनि विभिन्न सूचकले देखाइरहेछ।

यति भइरहँदा सरकारका समर्थकहरू भने “हामीलाई समय दिनुपर्छ, परिवर्तन रातारात हुँदैन” भन्ने तर्क गर्छन्। तर समयले मात्रै समस्याको समाधान हुँदैन; वैचारिक स्पष्टता, नीति–कौशल, दूरदृष्टि र व्यवहारिक नेतृत्व अत्यावश्यक हुन्छ। जेनजी समूह यिनै मोर्चामा कमजोर देखिन थाल्यो।

यतिबेला मुख्य प्रश्न के हो भने, मुलुक कहाँ जाँदैछ ? जेनजी समूहले स्थापित राजनीतिक संस्कृतिबाट केही नयाँ गर्नुपर्ने थियो, तर अहिले देखिएको शैलीले पुरानै गल्ती दोहोर्‍याउने मात्र होइन, नयाँ प्रकारको अस्थिरता पनि जन्माउँछ भन्ने संकेत दिइरहेको छ।

अबको बाटो स्पष्ट छ देशलाई स्थिरता, सुशासन र संस्थागत स्पष्टता चाहिन्छ। भावनात्मक राजनीतिक प्रयोग होइन, वैचारिक विवेकसहितका दीर्घकालीन सुधार आवश्यक छन्। सरकारलाई तीन विषय अत्यन्तै महत्वपूर्ण छन्। पहिलो, संस्थाहरूलाई सम्मान गर्दै पारदर्शी शासन सञ्चालन। दोस्रो, आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्र, प्रविधि, युवा शक्ति र अन्तर्राष्ट्रिय साझेदारीसँग योजनाबद्ध सहकार्य। तेस्रो, चुनावलाई मात्र उपलब्धि नबनाई दीर्घकालीन राजनीतिक स्थिरता र लोकतान्त्रिक उत्तरदायित्वको संरचना निर्माण।

देश जेनजी वा कुनै एक समूहको हातमा होइन; यसको भविष्य संस्थागत आधार, जिम्मेवार राजनीति र दीर्घकालीन रणनीतिमा टेकेको हुनुपर्छ । अहिलेको आवश्यक परिवर्तन राजनीतिक प्रयोगशाला होइन, परिपक्व शासन हो। भावना होइन, निस्पक्ष र तथ्यमा टेकेर निर्णय लिन सक्ने नेतृत्व हो।

मुलुकले दशकौँमा धेरै प्रयोग देखिसक्यो। अब प्रयोग होइन, परिणाम चाहिन्छ।

प्रतिक्रिया