धनगढी । यसवर्षको मनसुन नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भइसकेको छ ।
महाशाखाले शुक्रबार बुलेटिन जारी गर्दै कोशी प्रदेशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको जनाएको छ ।
यसवर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र क्षति पुग्ने पूर्वानुमान गरिएअनुसार पूर्वतयारीका लागि कार्ययोजना पारित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यो वर्ष मनसुन्जन्य विपद्बाट देशैभरि करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरेको छ ।
प्राधिकरणले बुधबार सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार यस वर्षको मनसुनबाट सुदूरपश्चिमका ५२ हजार ११२ घरधुरीका दुई लाख २७ हजार ७३० जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया