ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका समानुपातिक सांसदले मागे प्रत्यक्ष सरह बजेट

शनिबार १७, जेठ २०८२ १०:४०

धनगढी । सुदूरपश्चिम प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यहरुले बजेट र कार्यक्रममा समान व्यवहार गर्न माग गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले समान अधिकार, समान पहुँच र समान बजेटको माग गरेका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा २१ जना सांसद समानुपातिक प्रणालीबाट निर्वाचित भएको बताउँदै उनीहरुले सबै जनप्रतिनिधिप्रति समान व्यवहार हुनुपर्ने माग गरे । 

ज्ञापनपत्र बुझाउने क्रममा महिला समन्वय समितिका संयोजक एवं नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापाले सबै सांसदलाई एउटै नजरले हेर्नुपर्ने तथा बजेट र समान कार्यक्रमको पहुँच हुनुपर्ने बताइन् । 

ज्ञापनपत्रमा एकल महिला, अपाङ्गता भएका महिला, दलित महिला लगायत विशेष अवस्थाका महिलालाई लक्षित कार्यक्रमका लागि छुट्टै बजेट व्यवस्था गर्न माग गरिएको छ । किशोरी स्वास्थ्य, सुरक्षित महिनावारी, पोषण, आत्मरक्षा तालिम, बालविवाह न्यूनीकरण, स्वरोजगार, उद्यमशीलता, सीप विकास, लगानी अनुदान, ‘एक महिला एक उद्यम’ कार्यक्रम लगायतका क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने माग गरिएको छ । 

ज्ञापन बुझ्दै मुख्यमन्त्री कमलबहादुर शाहले लैङ्गिक सवाललाई प्रदेश सरकार गम्भीर रूपमा लिएको बताए ।

प्रतिक्रिया