धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसंगै सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियारले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा आज दायर गरेको थियो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ मा मुद्वाको किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्थाअनुसार सोडारीको सांसद पनि निलम्बनमा परेको हो ।
उक्त जानकारीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिमका सभामुखलाई पत्र पठाएको छ । सभामुख भीमबहादुर भण्डारीले अख्तियारको पत्र प्राप्त भएको जानकारी दिए । ‘सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन हुने व्यवस्था रहेको जानकारीसहित पत्र प्राप्त भएको छ,’ सभामुख भण्डारीले भने, ‘प्रदेशसभा बैठक सञ्चालन भएको दिन सोडारीको सांसद पद निलम्बनमा परेको जानकारी दिन्छौं ।’
सोडारीले एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोपसहित अख्तियारले सोही रकम बिगो कायम गर्दै विशेष अदालतमा मुद्वा दायर गरेको छ । अख्तियारले विशेषमा दायर गरेको आरोपपत्रमा कैद र जरिवाना पनि मागदाबी गरेको छ । यस्तै सोडारी सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री भइसकेको व्यक्ति भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी पनि गरिएको छ ।
अख्तियारले सोडारीका छोरा र श्रीमतीलाई सम्पती जफतका लागि प्रतिवादी बनाउन आरोपपत्रमा उल्लेख गरेको छ । सोडारी कैलाली क्षेत्र नम्बर ४ को प्रदेशसभा १ बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । २०७४ को निर्वाचनमा पनि सोडारी सोही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।
त्यो समय उनी सामाजिक विकासमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री भएका थिए । दोस्रोपटक प्रदेश सांसदमा विजयी भएपछि उनी गतवर्ष वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा काँग्रेस–एमालेको गठबन्धन बनेसँगै अल्पमतमा परेपछि साउन १८ गते सोडारीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया