अफ्रिकी देश गिनीको एक फुटबल म्याचको समयमा भागदौड मच्चिँदा कम्तिमा ५६ जनाको मृत्यु भएको छ । गिनीको दोस्रो ठूलो शहर जेरेकोरमा फुटबल म्याचका दौरानमा उक्त भागदौड मच्चिएको हो ।
यद्यपि, केही व्यक्तिहरूले भने भगदौडमा परी मृत्यु हुनेहरूको संख्या १०० जना जति हुन सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि, यसको पुष्टि भएको छैन ।
केही रिपोर्टहरूमा भने रेफ्रीको एक निर्णयका कारण यो घटना भएको उल्लेख गरेका छन् । रेफ्रीले पाहुना टोलीका दुई खेलाडीलाई रेड कार्ट दिँदै मैदान बाहिर पठाएर पेनाल्टी दिएपछि यो घटना भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
गिनीका प्रधानमन्त्री ओउरी बाहले यो घटनालाई दुःखद भनेका छन् । उनले घटनामा मृत्यु भएकाहरुका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
स्थानीय मिडियाले भने रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै पाहुना टोलीका समर्थकले मैदानमा ढुङ्गा फालेका थिए । त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
प्रतिक्रिया