ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बडीमालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा

शुक्रबार २३, जेठ २०८२ ०५:०६

बाजुरा। बाजुराको बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। 
नगर कार्यपालिकाले शुक्रवार आयोजना गरेको विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो। स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप तथा रोग नियन्त्रण महाशाखाले तोकेको मापदण्ड पूरा गरेपछि नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले जानकारी दिए।

उनका अनुसार नगरपालिकाभित्र जन्मेदेखि १५ महिनासम्मका ३८० जना र १६ महिनादेखि ५९ महिनासम्मका ५८४ जना बालबालिकाले सबै नियमित खोप प्राप्त गरिसकेका छन्। यसरी कुल ९६४ जना बालबालिका पूर्ण खोप सेवाको पहुँचमा पुगेका हुन्। बालबालिकाले उमेर समूह अनुसार झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूविरुद्धको खोप प्राप्त गर्नु अत्यावश्यक भएकाले यसको पहुँच सबैसम्म पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको बताइएको छ।

नगर प्रमुख अमर खड्काले बालबालिकाको स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा अभियान सफल भएको उल्लेख गरे। साथै, अभियानमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिँदै नियमितता कायम राख्न सुझावसमेत दिए। कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापाले सम्पूर्ण बालबालिकालाई खोप सेवामा समेट्नु मात्र पर्याप्त नभई त्यसको दीगोता कायम गर्नु थप चुनौतीपूर्ण रहेको बताउँदै सबै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।

'स्वास्थ्य सेवा संवेदनशील क्षेत्र हो, स्वास्थ्यकर्मीहरू मानव जीवनका भगवान हुन्,' उपप्रमुख थापाले भेनिन्, 'त्यसैले उनीहरूले सेवा प्रतिको समर्पण झनै बढाउनु आवश्यक छ।'

बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गरेसँगै अब नियमित अनुगमन, जनचेतना अभिवृद्धि तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणमार्फत खोप सेवाको दीगोपनता कायम राख्ने योजनाअघि सारेको जनाएको छ।

प्रतिक्रिया