धनगढी । कञ्चनपुरमा एक दम्पतीको वीभत्स हत्या भएको डेढ महिना पुगेको छ । कात्तिक ८ गते लालझाडी गाउँपालिका–१, बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको बीभत्स हत्या भएको थियो । अघिल्लो राति संगै सुतेका उनीहरु बिहान मृत फेला परेका थिए ।
रमेशको शव आँगन र उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो । कमलाको शव सुत्ने ओछ्यानको नजिकै थियो भने झुलमा रगत लतपतिएको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार घटनाको अनुसन्धानका क्रममा दुई सयभन्दा बढी व्यक्तिसँग सोधपुछ भएको छ । ‘दम्पत्ती हत्याको अनुसन्धानमा सुरुवातमै हामीले तालिमप्राप्त कुकुर पनि प्रयोग गरेका थियौँ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘शंकास्पद सबै व्यक्तिसँग सोधपुछ पनि भइसकेको छ । तर, घटनाको अनुसन्धानले पूर्णता पाउन सकेको छैन । हामीलाई जवाफ दिन पनि समस्या भइरहेको छ ।’
घटनाको अनुसन्धानका क्रममा २५ जनाको पोलिग्राफ परीक्षण पनि गरिएको तर अनुसन्धानमा सहयोग नपुगेको डीएसपी जोशीले बताए । पोलिग्राफ टेस्ट एक प्रकारको परिक्षण हो । जसको प्रयोग आपराधिक मुद्दाहरुमा अभियुक्तबाट सत्य कुरा उकाल्नको लागि गरिन्छ । कुनै व्यक्तिको पोलिग्राफ टेस्ट गर्न उसलाई सेन्सरद्वारा यो मेसिनसँग जोडिइन्छ र सेन्सर कम्प्युटरसँग कनेक्ट गरिएको हुन्छ । त्यसपछि व्यक्तिको रक्तचाप, मुटुको धड्कन्, श्वास एवम् हृदयको गति र शरीरमा हुने गतिलाई एक ग्राफ पेपरमा रेकर्ड गरिन्छ । यो प्रक्रियालाई नै पोलिग्राफ भनिन्छ ।
डीएसपी जोशीका अनुसार घटनाको अनुसन्धानका लागि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली पनि खटिएको छ । ‘सीआइबीका वरिष्ठ प्रहरी नायब निरीक्षक सूर्य श्रेष्ठको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षकको टोलीले पनि अनुसन्धानमा सघाइरहेको छ ।’ प्रदेश र संघबाट पनि प्रहरी टोली खटिएर सीआइबीलाई सघाइरहेको उनले बताए ।
प्रतिक्रिया