ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी– दीपायल द्रुतमार्गमा तीन गुणा बजेट घट्यो, बढाउन माग

मङ्गलबार १७, असार २०८२ ०५:५०

धनगढी । धनगढी–दीपायल द्रुतमार्ग र बुडर हुँदै गडसेरा जोड्ने सडकका लागि बजेट बढाउन माग गरिएको छ । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले धनगढीमा पत्रकार सम्मेलन गर्दै बजेट बढाउन माग गरेका हुन् ।

‘दुबै सडक डोटीवासीको जिवनस्तरसंग जोडिएका छन्,’ उनले भने, ‘तर, दुबै सडकका लागि न्यून बजेट विनियोजन गरिएको छ । जसका कारण निर्माणमै वर्षाै लाग्ने देखिएको छ । प्रदेश र संघीय सरकारलाई बजेट बढाउन माग गर्दछु ।’

ओझाका अनुसार प्रदेश सरकारले निर्माण गरिरहेको बुडर–जोरायल–गडसेरा सडकका लागि आगामी वर्षको बजेटमा दुई करोड रुपैयाँ विनियोजन गरेको छ । ४२ किलोमिटरको उक्त सडकमा अहिलेसम्म सात किलोमिटर मात्रै कालोपत्रे भएको ओझाले बताए । 

यस्तै, धनगढी–खुटिया–दीपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक संघीय सरकारले छुट्टै योजना कार्यालय स्थापना गरेर निर्माण गरिएको छ । उक्त योजनाको धनगढी–दीपायल खण्डमा मात्रै अहिले काम भइरहेको छ । 

योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार संघीय सरकारले चालु वर्षभन्दा तीन गुणा घटाएर आगामी वर्षका लागि बजेट विनियोजन गरेको छ । ‘चालु आर्थिक वर्षमा ४३ करोड बजेट रहेकोमा आगामी वर्षका लागि १५ करोड मात्रै छुट्याइएको छ,’ उनले भने, ‘हाम्रो दायित्व नै झण्डै ५० करोड बाँकी छ ।’

९५ किलोमिटरको धनगढी– दीपायल सडकमा अहिलेसम्म साढे ३८ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । २१ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भइसकेको छ । 
 

प्रतिक्रिया