धनगढी । कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणमा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरेकोमा आरोपमा एकजनालाई पक्राउ गरिएको हो ।
बडायक दम्पती डेढ महिनाअघि मृत फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार लालझाडी गाउँपालिका वडा नम्बर २ का एक पुरुषलाई पक्राउ गरिएको हो ।
‘एक जनालाई पक्राउ गरेर प्रहरी निरीक्षकको टोली जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेको छ,’ डीएसपी जोशीले अग्रलेखलाई भने । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन ।
कात्तिक ८ गते लालझाडी गाउँपालिका–१, बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको बीभत्स हत्या भएको थियो । अघिल्लो राति संगै सुतेका उनीहरु बिहान मृत फेला परेका थिए ।
रमेशको शव आँगन र उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो । कमलाको शव सुत्ने ओछ्यानको नजिकै थियो भने झुलमा रगत लतपतिएको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट थियो ।
प्रतिक्रिया