ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

सोमबार ३०, असार २०८२ ०६:५०

धनगढी । कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । चालु आर्थिक वर्षमा पाँच वर्षमुनिका सबै बालबालिकाले खोपको पूर्ण मात्रा लगाएको भन्दै जिल्ला पूर्ण  खोप समन्वय समितिले सोमबार कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो ।

धनगढीमा आयोजना गरिएको समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले कैलालीलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरे । चालु आर्थिक वर्षमा घरधुरी सर्भेक्षण गर्दा जिल्लाभरिका १५ महिनादेखि ६९ महिनासम्मका सबै ३३ हजार ६५९ बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले दावी गरेको छ ।

कार्यालयका अनुसार घरधुरी सर्भेक्षणका क्रममा केही बालबालिकाले खोप नलगाएको पनि पाइएको थियो । तर खोप नलगाएका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार खोपको पूर्ण मात्रा दिइएको स्वास्थ्य कार्यालय कैलाली निमित्त प्रमुख रमेश कुँवरले जानकारी दिए ।

घरधुरी सर्भेक्षण गर्दा १५ महिनादेखि ५९ महिनासम्म ३३ हजार ६५९ बालबालिकामध्ये ३३ हजार ८५ जनाले पूर्ण खोप प्राप्त गरेको, १५ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र चार सय ९६ जनाले खोपको मात्रा बीचमै छोडेको पाइएको कुँवरले जानकारी दिए । 

खोप नलगाएका र पूर्ण खोप नलगाएका बालबालिकालाई खोपको पूर्ण मात्रा दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कैलालीमा तीन सय ६१ वटा खोप केन्द्रबाट बालिबालिकालाई खोप लगाइदै आएको छ । खोप अभियानमा स्वास्थ्यकर्मीसँगै महिला स्वयम् सेविका पनि परिचालन हुन्छन् । बर्षेनि करिब १३ हजार बालबालिकाले खोप लगाउने गर्छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री खड्काले खोपको पूर्ण मात्रा लगाएमात्र व्यक्ति स्वस्थ हुनसक्ने बताए । ‘स्वस्थ नागरिकले मात्र देश, समाज र परिवारका लागि योगदान पु¥याउन सक्छ । खोपको पूर्ण मात्रा लगाए व्यक्ति स्वस्थ बन्न सक्छ’ उनले भने ।  

कार्यक्रममा जिल्लाभरि खोप कार्यक्रममा उत्कृष्ट कार्य गरेको कदरस्वरुप १३ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई समारोहमा सम्मान गरिएको थियो । 

जिल्ला पूर्ण  खोप समन्वय समितिका प्रमुख एवम् जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरी भुलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्र्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया