धनगढी । ३ असारमा कैलाली कारागारबाट १४ जना कैदीबन्दीको सरुवा भयो । कारागार कार्यालय कैलालीका अनुसार सरुवा हुने सबै भुपेन्द्र बडुवालको हत्या प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएकाहरु थिए ।
बडुवालको हत्या मुद्वामा १९ जनालाई कारागार चलान गरिएकोमा महेश रावल, रोशन शाही, रोहित आले र अशोक रावललाई कैलालीबाट कारागार कार्यालय तुलसीपुर दाङ पठाइएको थियो । कैलालीबाट बर्दिया कारागार सरुवा हुनेहरूमा सन्तोष भनिने सविनजंग शाही, प्रवीण रिमाल, सोहन शाह, विकास शेरचन, धिरज भनिने दीपेन्द्र शाही थिए । दैलेख कारागार सरुवा हुनेमा नवीन रावल, अनुज भनिने चिरञ्जीवीजंग शाही, हिमाल शाही र हेमन्तबहादुर शाही थिए ।
बडुवाल हत्या प्रकरणका १४ जना आरोपितको कारागार सरुवा भएको २५ दिनपछि २८ असारमा कैलाली कारागारमा कुटाकुटको अवस्था सृजना भयो । कारागारका नाइके खगेन्द्र बोगटी कुटिए । बोगटीमाथि कपिल श्रेष्ठको समूहले कुटपिट गरेको जानकारी कारागार प्रशासनले नै दियो ।
श्रेष्ठ पनि बडुवाल हत्या घटनामै पुर्पक्षका लागि कारागार चलान भएका थिए । तर, उनी बडुवाल हत्या घटनाका मुख्य आरोपी भनिएका नविन रावल समूह (नन्दु सरकार समूह) मा भने आवद्व थिएनन् । बडुवालका साथी रहेका श्रेष्ठ जयेन्द्र शाह समूहमा आवद्ध थिए । उनले बडुवालको हत्यामा दोहोरो भूमीका खेलेको आशंका प्रहरीको थियो ।
तर, नाइके कुटिएको घटनामा भने श्रेष्ठभन्दा पनि अन्य व्यक्तिकै संलग्नता रहेको निष्कर्षमा अहिले कारागार प्रशासन पुगेको छ । ‘अन्य समूहले नै कुटपिट गरेर कपिल श्रेष्ठलाई आरोप लगाइदिएको देखिन्छ,’ कैलाली कारागार स्रोतले भन्यो, ‘कपिललाई त बडुवाल हत्या प्रकरणमा जोडिएका अन्य व्यक्तिबाट पनि सुरक्षा थ्रेट छ ।’
नाइकेमाथि कुटपिट भएपछि कैदीबन्दीहरूले जेलर बसन्त खत्रीविरूद्व नाराबाजी समेत गरेका थिए । उनीहरुले सीडीओ र प्रहरी प्रमुखकै अगाडि जेलर खत्रीले मनोमानी गरेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।
नाइकेमाथि कुटपिट हुनअघि २६ असारको राति प्रमुख जिल्ला अधिकारी गोगन हमाल नेतृत्वको टोलीले कारागार निरीक्षण गरेको थियो । सो क्रममा ब्लक ए मा रहेका कैदीबन्दीहरुसंग मोबाइल फेला परेको थियो । त्यसको भोलिपल्ट ब्लक ए मा रहेका सात जना कैदीबन्दीलाई ब्लक बी मा सारिएको थियो ।
कैलाली कारागारमा सोमबार राति पनि कैदीबन्दीहरुले नारावाजी गरे । नारावाजीपछि कैलालीका प्रमुख जिल्ला अधिकारी हमाल, प्रहरी प्रमुख बाल नरसिंह राणा लगायतको टोली कारागार पुगेको थियो । ‘बडुवाल हत्या प्रकरणका १४ जनालाई छुट्टाछुट्टै तीन कारागारमा यसअघि नै सरुवा गरिएको छ,’ कारागार प्रशासन स्रोतले भन्यो, ‘१४ जनाको सरुवा गरिएको विरोधसंगै फेरि अन्य कैदीबन्दीको सरुवा हुने आशंकामा नारावाजी गरिएको हुनसक्छ । कैदीबन्दीको असहमति सबैभन्दा बढी जेलरसंगै रहेका छ ।’
सोमबार राति पनि जेलरविरुद्व नारावाजी भएपछि भने जेलर खत्री मंगलबार नै बिदामा गएका छन् । उनको बिदा प्रमुख जिल्ला अधिकारी हमालले स्वीकृत गरेका छन् । ‘यसअघि कैलाली कारागार कैदीबन्दीको चाहनाजस्तै चलेको थियो,’ प्रमुख जिल्ला अधिकारी हमालले भने, ‘हामीले कारागारमा केही सुधार गर्न खोजेका थियौं । त्यो कैदीबन्दीलाई मन नपरेको हुनसक्छ ।’ प्रमुख जिल्ला अधिकारी हमालले सरुवाको विरोधमा नारावाजी गर्नुपर्ने कुनै कारण नदेखेको बताए । ‘कैदीबन्दीको कारागार सरुवा नियमित प्रक्रिया हो, यसमा विरोध गर्नुको कुनै अर्थ छैन,’ हमालले भने ।
कैलालीमा विगतदेखि नै विभिन्न समूह अपराधिक गतिविधिमा संलग्न हुँदै आएका थिए । ती समूहका केही व्यक्ति अहिले कारागार चलान भएपछि ग्याङ वार कारागारभित्र पनि प्रवेश भएको सुरक्षा अधिकारी बताउँछन् । ‘कैलालीमा जयन्द्र शाह र नन्दु सरकार (नन्दु स्वाइड) समूह बनाएर अपराधिक गतिविधिमा संलग्न थिए,’ एक सुरक्षा अधिकारीले भने, ‘अहिले दुबै समूहका केही व्यक्ति कारागार चलान भएका छन् । जसका कारण बाहिरको वार कारागारभित्र पनि देखिन थालेको छ । जेलभित्रैबाट पनि कैलालीमा सुरक्षा थ्रेट देखिएपछि नन्दु सरकार समूहका १४ जनाको सरुवा गरिएको हो ।’
प्रतिक्रिया