ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा युवतीको हत्या : एक महिनासम्म प्रहरीले पाएन क्लु

शुक्रबार ०२, साउन २०८२ १०:३६

धनगढी । ९ असारमा कैलालीको धनगढी उपमहानगरपालिका– २ स्थित बैयाबेहडीमा एक युवती मृत फेला परिन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाकी ३० वर्षीया रेणुका चौधरी बैयाबेहडीस्थित आफ्नै कोठामा मृत फेला परेकी थिइन् । 

बाहिरबाट ताल्चा लगाइएको कोठामा चौधरीको शव बीभत्स अवस्थामा फेला परेको थियो । युवतीको घाँटी र कन्चटमा धारिलो हतियारको चोट थियो । प्रारम्भिक अनुसन्धानपछि कैलाली प्रहरीले चौधरीको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा तालिमप्राप्त कुकुरको प्रयोग पनि गरियो । 

युवती मृत अवस्थामा फेला परेको एक महिना बित्न थालेको छ । तर, प्रहरीले युवती हत्या घटनाको अनुसन्धानका क्रममा क्लु फेला गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार घटनाबारे अनुसन्धान जारी छ । ‘अहिलेसम्म हत्यामा संलग्नलाई पक्राउ गर्न सकिएको छैन,’ उनले भने, ‘केही व्यक्तिसंग सोधपुछ गरिएको छ । हत्यामा संलग्न भएकाहरूको खोजतलास भइरहेको छ ।’

मृत फेला परेकी युवती खानेपानी संस्थान धनगढीकी कार्यालय सहयोगीका रुपमा कार्यरत थिइन् । धनगढी उपमहानगरपालिकाले आयोजना गरेको पानीको गुणस्तरसम्बन्धी तालिममा सहभागी भएकी उनी त्यसपछि सम्पर्कमा थिइनन् । 
 

प्रतिक्रिया