ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा चोरीको आरोपमा हत्या गरेर शव गाडियो, भाइ र भान्जा पक्राउ

शुक्रबार ०२, साउन २०८२ ०८:१६

धनगढी । कैलालीको धनगढीमा हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१४ फूलबारी बस्ने ३५ वर्षीय गणेश गिरीको हत्या अभियोगमा १८ वर्षीय प्रदीप बोहरा र ३३ वर्षीय पदम गिरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहका अनुसार पदम मृतक गणेशका भाई हुन् भने बोहरा भान्जा हुन् ।

डीएसपी सिंहका अनुसार २९ असारमा भान्जा प्रदीपको कुटपिटबाट घाइते भएका गणेशको ३० असारमा मृत्यु भएको थियो । `मृतकका परिवारले शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका थिए,´ डीएसपी सिंहले भने, `बिहीबार गणेशको कुटपिटबाट हत्या भएको खबर प्रहरीसम्म पुगेपछि शव उत्खनन् गरेर निकालिएको छ । आरोपित दुवै जनालाई पनि बिहीबार नै पक्राउ गरिएको हो ।´

डीएसपी सिंहका अनुसार शवको सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा चोरीको आरोप लगाउदै गणेशमाथि कुटपिट भएको खुलेको डीएसपी सिंहले बताए । `मृतक गणेशमाथि भान्जा नाता पर्ने प्रदीपको एयरपड चोरी गरेको आरोप लगाइएको रहेछ,´ डीएसपी सिंहले भने, `एयरपड चोरी भएको आरोपमै प्रदीपले गणेशमाथि कुटपिट भएको खुल्न आएको छ ।´ मृतकका भाई पदमलाई भने घटनामा मतियार बनेको आरोप छ । 

प्रतिक्रिया