ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कर्णाली याक्सको पहिलो जित र चितवनको पहिलो हार

शुक्रबार २१, मङि्सर २०८१ ०४:२९

काठमाडौँ । विदेशी खेलाडीद्वय शिखर धवन र चाडविक वाल्टनले अनुभवी इनिङ्स खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा पहिलो विजय हात पारेको छ । कर्णालीले शुक्रबार पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो ।

तर कर्णालीको विजय सहज रहेन । विशेषगरी सोहेल तनवीरले १९ औं ओभरमा २ रनमात्र दिएपछि कर्णालीलाई अन्तिम ओभरमा विजयका लागि ९ रन चाहिन्थ्यो । अर्जुन घर्तीले रिजन ढकालको पहिलो तीन बलमा २–२ गरेर ६ रन जोडे । चौथो बलमा उनी ११ रनमा रनआउट भए । अन्तिम २ बलमा ३ रन चाहिने अवस्थामा जिसन मक्सुदले चौका प्रहार गरी कर्णालीलाई जिताए ।

धवनले ४१ बलमा ४५ र वाल्टनले १९ बलमा ३० रन बनाएपछि याक्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ३१ रनको लक्ष्य १ बल अगाडि पूरा गर्‍यो । तेस्रो खेलमा आएर कर्णालीले पहिलो विजय हात पारेको हो । चितवनले तेस्रो खेलमा पहिलो पराजय भोगेको हो । ४ चौका र १ छक्का प्रहार गरेका धवनलाई यान निकोलास लफ्टी इटोनले कट एन्ड बोल्ड गरे । वाल्टनले ३ छक्का प्रहार गरे । धवनले देव खनालसँग पहिलो विकेटमा १० ओभरमा ५३ र वाल्टनसँग दोस्रो विकेटमा ३३ बलमा ५१ रन जोडेका थिए ।

यसअघि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सकेको थियो । 

प्रतिक्रिया