काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । गौस र दिनेश खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।
गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्यो । पोखरामा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । योसहित पोखराले जितमा विभिन्न कीर्तिमान पनि बनाएको छ । जसमा गौसको पहिलो शतक समेत रह्यो ।
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी । उनले अविजित १०४ रन जोडे । यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे ।
पोखराका अमेरिकन विकेट किपर ब्याटर गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीमा पनि आफ्नो नाम दर्ज गरे ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।
अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए ।
प्रतिक्रिया