ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
पालिकाबाटै सुविधामा विभेद

जातीय विभेदले आक्रान्त कैलालीको ओलानी

शनिबार २२, मङि्सर २०८१ ०८:१९

धनगढी । सुदूरपश्चिमको प्रदेशको राजधानी तोकिएको क्षेत्र हो, कैलालीको गोदावरी नगरपालिका । सोही नगरपालिकाको १० नम्बर वडामा पर्छ ओलानीको चाक्लेखोला गाउँ । चाक्लेखोलाको दलित बस्तीमा ४० वर्षअघि निर्मित जीर्ण र दुुर्गन्धित कुवा छ । दलित समूदायका १० परिवार त्यहीँ जीर्ण र दुुर्गन्धित कुवाको पानी खान बाध्य छन् ।

त्यसै कुवालाई छेकवार गर्न बनाइएको छ, एउटा अग्लो पर्खाल । पर्खालबाहिर गैरदलित परिवार दानबहादुर भाटको घर जोडिएको छ । भाटको घरमा खानेपानीको धारा छ । त्यो उनको निजी धारा हो । गैरदलित परिवारहरुलाई खानेपानीका लागि पालिकाले नै बोरिङ बनाइदिएको छ । दलित परिवारहरुलाई भने कुवाकै भर छ ।

दलित समूदायका परिवारका लागि पानी खाने कुवाको विकल्प छैन । ‘फोहर भए पनि यहीँ कुवाको पानी नखाई सुखै छैन,’ कुवाको पानी भर्दै गरेकी तारा ताम्राकारले भनिन्, ‘हामी १० परिवारका लागि मात्र यो कुवा हो । गैरदलित परिवारका लागि त ठाउँठाउँमा बोरिङ गाढेका छन् । त्यहीँ बोरिङबाट घरघरमा पानीका धारा जडान गरिएका छन् ।’ आफूँ विवाह गरेर आएदेखि धारा आउँछ भन्ने सुन्दै आएको भए पनि १० वर्षसम्म आश्वासन पूरा नभएको उनको भनाई थियो ।

ओलानीकै थमौरा गाउँमा पनि त्यहीँ अवस्था छ । थमौरामा गैरदलित समूदायका परिवारका लागि घरघरमा पानीको धारा जोडिएका छन् । तर दलित समूदायका लागि कुवा छ । थमौरा टोलका दलित समूदायहरुका लागि खानेपानीका लागि कुवाको विकल्प छैन । स्थानीय जल्धरा बिकले निर्धक्क भावमा गैरदलितको घरघरमा पानीका धारा भएको तर आफूँहरुले कुवाको पानी खानु परेको भन्दै आक्रोस पोखिन् । ‘थमौराका हामी ११ दलित परिवार यहीँ कुवाको पानी खान्छौं,’ उनले भनिन् । 

गोदावरी नगरपालिका १० का वडाध्यक्ष रबीन्द्र शाही (गुुड्डुु) ले दलित समूदायका परिवारहरु आफ्नै कारणले धाराको पानीबाट बञ्चित भएको दावी गरे । उनले आफ्नो नेतृत्वमा वडाभरि हालसम्म दुुई सयभन्दा धेरै संख्यामा बोरिङ गाडेर वडावासीलाई खानेपानी उपलब्ध गराइएको बताए । उनका अनुसार कुवाको पानी खाने दलित समूदायका परिवारहरु बोरिङ र धारा जोड्न तयार नभएका हुन् ।

प्रदेश राजधानीसगै जोडिएका गाउँमा पनि जातिय विभेदको पराकाष्टा देखिएको इन्सेक सुदूूरपश्चिमका संयोजक खडकराज जोशी बताउँछन् । ‘प्रदेशको राजधानी नजिककै  बस्तीमा त यस्तो अवस्था छ भने दूरदराजको अवस्था झन् कस्तो होला ?’ उनले भने ।
 

प्रतिक्रिया