धनगढी । १८औं संस्करणको सुदूरपश्चिम महोत्सव आजदेखि सुरु भएको छ । महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्योगमन्त्री भण्डारीले १० बुँदे मागपत्र पनि बुझाएको छ । पश्चिम सेती जलविद्युत आयोजना र सुख्खा बन्दगाह निर्माण, सेती प्रादेशिक अस्पताल र त्रिनगर–गौरीफन्टा नाकाको स्तरोन्नति लगायतका माग बुझाइएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले जानकारी दिए ।
‘२०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर महोत्सव सुरुवात गरेका थियौं,’ उनले भने, ‘अहिलेसम्म केही माग पूरा भएका छन् त केही पूरा हुने चरणमा छन् । १० माग पूरा नभएकाले यसपटक १० बुँदे मागपत्र बुझाएका हौं ।’
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरुको खोजी गर्न र यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभुसाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने संघको अनुमान छ । महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टीकट लाग्ने छ । विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका पाँच सय ३१ वटा स्टल राखिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया