ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागार घटनाका दोषीलाई छानबिन समितिको प्रतिवेदनको आधारमा कारबाही हुन्छः लेखक

बुधबार २८, साउन २०८२ ०१:१४

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले छानविन समितिको प्रतिवेदनको आधारमा कैलाली कारागार घटनाका दोषीहरुलाई कारबाही गरिने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले साउन २२ गते कैलाली कारागारमा भएको घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदनको पर्खाईमा रहेको जानकारी दिएका हुन् । उनले संसदीय समितिलाई छानविन समितिले तोकिएको अवधिभित्र प्रतिवेदन पेस गर्ने जानकारी गराउँदै सो प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाहीसहित आवश्यक कार्य हुने पनि उनले स्पष्ट पारे।

साउन २२ गते राति भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएका थिए। तीमध्ये अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइएको छ । दुई जनाको उपचार ट्रमा सेन्टरमा र एक जनाको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। चार जनालाई उपचारपछि पुनः कारागार पठाइएको छ भने बाँकी ४१ जना अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। मृतक बन्दीको शव कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको छ।

कैलाली कारागारमा हाल पुरुष ब्लक ‘ए’ र ब्लक ‘बी’ गरी ६४३ जना पुरुष र एक ब्लकमा ४७ जना महिला बन्दी छन्। घटनाको रात दुई ब्लक छुट्याउने पर्खाल तोडफोड गरी कैदीबन्दीहरूले ब्लक ‘बी’ मा पुगेर त्यहाँका बन्दीलाई कुटपिट गरेको विवरणमा उल्लेख छ।

घटनापछि द्वन्द्वमा संलग्न समूहका १७ जना नेतृत्वकर्तालाई अन्यत्र स्थानान्तरण गरिएको, कारागारभित्र अवैध सामान छरछैन पत्ता लगाउन दुई पटक विशेष खानतलासी गरिएको र प्रमुख जिल्ला अधिकारीद्वारा कारागार निरीक्षण गरी शान्ति–सुरक्षा कायम गर्न बन्दीलाई सम्झाइएको गृहमन्त्रीले जानकारी दिए।

उनका अनुसार अहिले कारागारको अवस्था सामान्य छ र सुरक्षाकर्मीको पर्याप्त उपस्थिति सुनिश्चित गरिएको छ। बन्दीका परिवारसँग भेट गराई उनीहरूको अवस्थाबारे जानकारी गराइएको छ। समितिको प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कानुनी कारबाही हुने पनि गृहमन्त्रीले बताए ।

प्रतिक्रिया