ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
कैलाली कारागार घटना

डिस्चार्ज भएका कैदीबन्दी अस्पतालमै, अन्यत्र स्थानान्तरणको तयारी

बुधबार २८, साउन २०८२ ०३:४५

धनगढी । कैलाली कारागारमा शुक्रबार राती भएको हिंसात्मक घटनामा घाइतेमध्ये २७ जना कैदीबन्दीलाई सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको छ । हिजो डिस्चार्ज भए पनि उनीहरु अस्पतालमै छन् ।

कारागारमा लैजाँदा भित्र पुनः झडपको स्थिति आउन सक्ने भन्दै डिस्चार्ज भएका कैदीबन्दीलाई अस्पतालमै राखिएको हो । डिस्चार्ज भएका कैदीबन्दीलाई कारागार भित्र राख्दा उनीहरु माथि पुनः आक्रमण हुनसक्ने भएकाले अहिले अस्पतालबाट उनीहरुलाई नलगिएको कारागार प्रशासनले जनाएको छ ।

शुक्रबार राती भएको घटनाका घाइते कैदीबन्दीलाई डिस्चार्ज भएपछि अन्यत्र स्थानान्तरण गर्ने विकल्पमा छलफल भइरहेको कैलाली कारागारका प्रमुख जलान्धर भुसालले बताए । ‘कारागारमा लैजाँदा उहाँहरु माथि फेरि आक्रमण हुन सक्छ । कारागारको माहोल अशान्त बन्न सक्छ’ भुसालले भने, ‘त्यसैले डिस्चार्ज भएकालाई केही दिन अस्पतालमै राख्ने कुरा छ ।’

अस्पतालमा रहेका कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभाग र कैदीबन्दीका आफन्तसँग कुराकानी भइरहेको कैलाली कारागार प्रशासनले जनाएको छ । उनीहरुलाई अहिले सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा राखिएको छ ।

डिस्चार्ज भएकामध्ये तीन जनालाई आज जिल्ला कारागार कञ्चनपुर सरुवा गरिएको कारागार प्रमुख भुसालले जानकारी दिए । कैलाली कारागारभित्र शुक्रबार राती भएको हिंसात्मक घटनामा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । 

कारागार प्रमुख भुसालका अनुसार घाइतेमध्ये २७ जनालाई मंगलबार डिस्चार्ज गरिएको, तीन जनाको काठमाडौँ र बाँकीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रतिक्रिया