ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बसको ठक्करबाट मृत्यु भएका चौधरीका आफन्त क्षतिपूर्ति माग गर्दै आन्दोलनमा

बुधबार २८, साउन २०८२ ०४:०७

टीकापुर । कैलालीको टीकापुरमा बसको ठक्करबाट ज्यान गुमाएका अतवारी चौधरीका आफन्तले क्षतिपूर्तीको माग गर्दै सडक अवरुद्ध गरेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर नजिकै सुप प्र ०१–००१–ख ३५८३ नम्बरको बसले ठक्कर दिँदा टीकापुर नगरपालिका–६ मिलनपुर शिविरका ४५ वर्षका चौधरीको मंगलबार ज्यान गएको थियो । 

मृतकका आफन्तले आज टीकापुरको मुख्य बजार क्षेत्र, जमरा पुल र इलाका प्रहरी कार्यालय अगाडि टायर बालेर सडक अवरुद्ध गरेका छन् । टीकापुरस्थित बसपार्कबाट बजारतर्फ साइकलमा जाँदै गरेका चौधरीलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको थियो । 

काठको काम गर्ने मिस्त्री रहेका मृतक चौधरीका आफन्तहरुले बसका चालकको लापरवाहीका कारण ज्यान गएको दाबी गर्दै क्षतिपूर्ति माग गरेका सडक अवरुद्ध पारिएको बताएका छन् । मिलनपुरका बडघर धनिराम चौधरीले मृतकका बालबच्चाको भविष्यका लागि ३० लाख क्षतिपूर्ति दिनुपर्ने माग राखिएको बताउँदै बस व्यवसायीले क्षतिपूर्ति दिन नसकिने भनेपछि सडक अवरुद्ध पारिएको बताए । 

‘घरबाट काम गर्न निस्किएको मजदुरी गरिखाने अतवारीलाई बसका चालक लापरवाहीले ठक्कर दिँदा मृत्यु भएको छ, उसको बालबच्चाका लागि क्षतिपूर्ति नदिएसम्म सडक अवरुद्ध गर्छौं’ बडघर चौधरीले भने, ‘बस व्यवसायीले बिमाबाट उपलब्ध हुने भनिएको ७ लाखमात्रै दिन सक्छौं भनेपछि आन्दोलनमा उत्रिएका हौं ।’

सोही घटनामा मोटरसाइकलमा सवार टीकापुर नगरपालिका वडा नम्बर ६ कै २५ वर्षीय राजु चौधरी घाइते भएका छन् । प्रहरीका अनुसार घाइते राजुको नेपालगञ्जमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी नवीनराजा बुढाथोकीले घटना लगत्तै बस र चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको बताए । 

‘प्रहरीले कानुनी कारवाहीका लागि प्रक्रिया थालिसकेको छ’ डिएसपी बुढाथोकीले भने, ‘मृतकका आफन्तले भनेको क्षतिपूर्तिका विषयमा प्रहरीलाई जानकारी छैन, त्यो बस व्यवसायी र मृतकका आफन्तको कुरा होला ।’

प्रतिक्रिया