धनगढी । सुदूरपश्चिम प्रदेशका सामुदायिक वनबाट १६ लाख २० हजार तीन सय क्युफिट काठ निकालिएको छ । गतआर्थिक वर्ष २०८२÷८३ मा सो परिमाणमा वनबाट काठ निकालिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दुई हजार २५८ चट्टा दाउरा समेत निकालिएको जनाएको छ । निकालिएको काठमध्ये ३९ हजार ४८४ क्युफिट आपूर्ति समितिबाट वितरण गरिएको छ । मन्त्रालयले ४६३ घरधुरीले दाउरा प्राप्त गरेको जनाएको छ ।
यसैगरी, गत आर्थिक वर्षमा २१ हजार तीन सय २२ क्विन्टल जडिबुटी निकासी गरिएको मन्त्रालयले जनाएको छ । ४० लाख ४० हजार ८०५ किलो खोटो समेत निकासी गरिएको छ । यसबाट २४ करोड एक लाख ७४ हजार ६८२ रुपैयाँ राजस्व आम्दानी भएको छ ।
प्रदेशको ३५ हेक्टर वन क्षेत्रमा जडिबुटी खेती गरिएको छ । सात हेक्टर धार्मिक वनका लागि हस्तान्तरण गरिएको छ । गतवर्ष एक हजार ७०२ हेक्टर क्षेत्रफलको १९ वटा वन समुदायमा हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । १७ हेक्टर अतिक्रमित वन खाली गरिनुका साथै १२२ हेक्टर वनमा १४ लाख ४७ हजार ३५० वटा बृक्षारोपण गरिएको छ ।
प्रतिक्रिया