ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागार तनाव : कैदीबन्दीको मागअनुसार स्थानान्तरण हुँदै

आइतबार ०१, भदौ २०८२ ०९:४२

धनगढी । कैदीबन्दीको मागअनुसार स्थानान्तरण गरेर कैलाली कारागारको तनावलाई व्यवस्थापन गरिने भएको छ । कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीबन्दीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिने भएको हो । 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले कैदीबन्दीको मागबमोजिमका कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिए । २३ साउनको राति भएको हिंसात्मक झडपमा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । अघिल्लो दिन घाइते भएका थप एकजना त्यसअघि नै उपचाररत थिए । 

‘अस्पतालबाट उपचार गरेर डिस्चार्ज भएका कुनै पनि कैदीबन्दीलाई कैलाली कारागार लगेका छैनौं,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले भने, ‘स्वास्थ्यलाभ गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी तत्कालका लागि अधिकांशलाई अस्पतालमै राखिएको छ । कैदीबन्दीले रोजेअनुसार अन्य कारागारमा पठाएर व्यवस्थापन गर्ने काम पनि भइरहेको छ ।’

अस्पतालबाट डिस्चार्ज भए पनि अधिकांश कैदीबन्दीहरुले फेरि कैलाली कारागार जान नसक्ने बताएपछि कारागार प्रशासन र स्थानीय प्रशासन कैदीबन्दी तथा उनका परिवारको सदस्यको इच्छाअनुसार बन्दीको सरुवा गर्न तयार भएको बताइएको छ । 

हालसम्म अस्पतालबाट उपचार गरेर फर्किएकामध्ये छ जनालाई अन्य जिल्लामा पठाइसकिएको छ । गम्भीर घाइते कर्ण सलामी मगर, कल्पेस विष्ट र आयुस भट्टको काठमाडौंमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा नौ जनाको अहिले पनि उपचार भइरहेको छ । 

घटनाको छानबिन गर्न गठित समितिका सदस्यसचिव जोशीले घटनाका अनुसन्धान पनि भइरहेको जानकारी दिए । घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।  

घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता गरेर कृष्णप्रसाद लम्साललाई जिम्मेवारी तोकेको छ । घटनापछि कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाको पनि सरुवा हुने चर्चा थियो । तर, उनको सरुवा भने भएको छैन । 
 

प्रतिक्रिया