ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नदी कटानले बर्सेनि जोखिम, सरकारी योजनाको पर्खाइमा पीडित

मङ्गलबार ०३, भदौ २०८२ १२:०३

धनगढी । सरकारी सहयोग नपाएपछि कैलालीको भजनी नगरपालिका– ४ झलझलिया गाउँका स्थानीय बासिन्दाहरु कान्द्रा नदीको कटान नियन्त्रण गर्न श्रमदान गरेर जैविक तटबन्धन गर्न कस्सिएका छन् । 

पाहोर साल झलझलियाका ४२ परिवारको करिब ५० विघामा पाक्नै लागेको धानखेत कान्द्राले बगाएको थियो । पाक्नै लागेको धानबाली नदीले बगाएपछि अहिले उनीहरु बसाई सरेका छन् । तर, नदी कटान भने रोकिएको छैन ।

नदी कटान रोकथामका लागि हालसम्म कुनै पनि सरकारी निकायबाट सहयोग नभएपछि किसानहरु आफै श्रमदान गरेर र घरघरबाट एक–एक सय रुपैयाँ संकलन गरेर जैविक तटबन्धन गर्न कस्सिएका हुन् । 

घरघरबाट संकलन गरेको पैसाले बाँस, बोरालागयत अत्यावश्यक सामग्री किनेका छन् । गाउँलेहरु टोल विकास संस्थामार्फत एकजुट भएर नदी कटान रोकथाम गर्नका लागि जैविक तटबन्ध गरिरहेका छन् । सहकर्मी समाजका बाबुराम चौधरीका अनुसार सहकर्मी समाजको सहजीकरणमा झलझलियामा पाँच वटा टोल विकास संस्था गठन भएका छन् । प्रतिक्षालय टोल विकास संस्थामा आवद्ध ६० घरपरिवार, चेतनशीलमा आवद्ध एक सय ५०, कालिकामा आवद्ध ४१, बडीमालिकाका ८० र देवीथान टोल विकास संस्थाका ५२ परिवार गरी ती सय ८० परिवार आवद्ध छन् । 

सबै परिवार एकजुट भएर जैविक तटबन्ध गर्न लागिपरेको स्थानीय टेकबहादुर रावलले बताए । ‘हरेक परिवारबाट एक जना अनिवार्य उपस्थित हुने निर्णय गर्दै  नदी कटान रोकथामका लागि जैविक तटबन्ध गर्न श्रमदानमा जुट्यौं,’ देविस्थान टोल विकास संस्थाका सचिव टेकबहादुर रावल भन्छन्,  ‘घरघरबाट रकम संकलन गरेर १२ दिनसम्म श्रमदान ग¥यौं ।’ उनका अनुसार कान्द्रा नदीबाट ५२ परिवार उच्च जोखिममा छन् । 

‘गत वर्ष आएको बाढीपछि नगरपालिकाबाट ११ लाख रकम विनियोजन भएको थियो । तर, काम हुन नसकेर फ्रिज गयो,’ वडा नम्बर ४ का अध्यक्ष जनताराम चौधरीले भने ।

०६४ सालमा पहिलोपटक आएको बाढीले झलझलिएका करिब अढाइ सय बढी परिवारको उठीबास भएको थियो । उनीहरुले खेतीपाती गर्दै आएको जमिनमा अहिले कान्द्रा नदीको पल्लो किनार बनेको छ । 

टोल विकास संस्थाहरुका सदस्यहरुका अनुसार झलझलियामा करिब  तीन सय ८०  परिवारको बसोवास छ । अन्य कतिपय परिवारहरु सधैका लागि उक्त ठाउँ छाडेर विस्थापित भइसकेका छन् । 

प्रतिक्रिया