ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी–उरै भञ्ज्याङ् सडक आयोजना: १० वर्षमा ४१ किलोमिटर कालोपत्रे

शनिबार ०७, भदौ २०८२ ०८:१६

धनगढी । धनगढीबाट डोटीको दीपायल हुँदै बझाङ जोड्ने  सडक आयोजना निर्माण सुरु भएको १० वर्षमा ४१ किलोमिटर सडक कालोपत्रे भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा निर्माण सुरु भएको १८६ किलोमिटर सो सडकमा ४१ किलोमिटर सडक गत असार मसान्तसम्म कालोपत्रे भएको छ । थप २१ किलोमिटर सडक चालुआर्थिक वर्षमा कालोपत्रे हुने अनुमान छ ।

धनगढी–खुटिया–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाले स्याउले बजारदेखि केही उत्तरबाट हाटखोलीसम्मको सात किलोमिटर र दीपालयबाट सलेनासम्मको १४ मिलोमिटर सडकमा बेस हालेर कालोपत्रे गर्न मात्रै बाँकी रहेको बताए । 

सात अर्ब ५४ करोड ६३ लाख ८१ हजार रुपैयाँ लागत अनुमान रहेको सो आयोजनामा हालसम्म एक अर्ब ३९ करोड ७१ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ ।

कुल लागत अनुमानको १८.५१ प्रतिशत खर्च हुँदा सडकको ट्रयाक खोल्ने काम सकिनुका साथै ४१ किलोमिटर सडक कालोपत्रे र एउटा पुल निर्माण सम्पन्न भएको छ ।

आयोजनाले धनगढीदेखि बझाङको थलरा गाउँपालिकासम्म मात्रै हेर्दै आएको छ । त्यसअगाडिको सडक निर्माणको जिम्मा भने सेती लोकमार्गको उत्तरी खण्ड आयोजना कार्यालयले हेर्दै आएको छ । 

थलरासम्म पाँच पुल निर्माण सम्पन्न हुने चरणमा छ भने दुई वटा पुल ठेकदारको लापरबाहीले निर्माणको सुरुवाती चरणमै छ ।

प्रतिक्रिया