धनगढी । कैलाली कारागार घटनाका घाइते कैदीबन्दीको व्यवस्थापनमा समस्या देखिएको छ । २३ साउनमा भएको हिंसात्मक झडपमा घाइते भएका कैदीबन्दीको व्यवस्थापनमा समस्या देखिएको हो । सेती प्रादेशिक अस्पतालमा उपचार गरेर डिस्चार्ज भएका कैदीबन्दीलाई पनि अस्पतालमै राखिएको छ ।
घाइते कैदीबन्दीलाई कैलाली कारागारभित्र लैजाँदा पुनः स्थिति बिग्रने जोखिम कारागार प्रशासनले आकलन गरेको छ । यसअघि घाइते कैदीबन्दीको चाहनाअनुसार नै उनीहरुको स्थानान्तरण गर्ने तयारीमा कारागार प्रशासन थियो । ‘केहीले स्थानान्तरण चाहेका छैनन्, यतै बस्न चाहेका छन् । ठुलो संख्यामा कैदीबन्दी अन्यत्र स्थानान्तरण पनि सहज छैन,’ कारागार प्रशासन स्रोतले भन्यो ।
२३ गते भएको घटनामा एकजना कैदीबन्दीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । अघिल्लो दिन घाइते भएका थप एकजना पनि सेती प्रादेशिक अस्पतालमै छन् । घाइतेमध्ये हालसम्म सात जनाको स्थानान्तरण गरिएको छ । काठमाडौंमा उपचाररत तीनजना कैदीबन्दीलाई त्यहीँको कारागारमा स्थानान्तरण गरिएको ढुंगानाले बताए । सेतीबाट डिस्चार्ज भएका तीनजना कैदीबन्दीलाई कञ्चनपुर र एकजनालाई नवलपरासी स्थानान्तरण गरिएको छ । बाँकी कैदीबन्दीलाई सेती अस्पतालमै राखिएको कैलाली कारागार प्रमुख प्रकाश ढुंगानाले बताए । दुई जनाबाहेक अन्यको उपचार सकिएको अस्पतालले जनाएको छ ।
कारागार प्रमुख ढुंगानाले कारागारमा लैजाँदा फेरि समस्या हुन सक्ने भएकाले डिस्चार्ज भएका कैदीबन्दीको व्यवस्थापनमा समस्या देखिएको बताए । ‘कारागारभित्र सुरक्षा चुनौती हुन सक्ने भएकाले उनीहरूलाई अस्पतालमै राख्नुपरेको हो,’ उनले भने, ‘अन्यत्र स्थानान्तरणका लागि निवेदन माग गरेका छौँ ।’ कारागार प्रशासनका अनुसार स्थानान्तरणका लागि हालसम्म २० जनाले निवेदन दिएका छन् । तीमध्ये १४ जनालाई कारागार स्थानान्तरण गर्न कारागार व्यवस्थापन विभागले स्वीकृति दिएको छ ।
यस्तै, कैलाली कारागारमा भएको हिंसात्मक घटना अनुसन्धानका लागि गठित छानबिन समितिले घटनामा संलग्नको पहिचानका लागि विशेषज्ञसहितको छानबिन समिति गठन गर्नुपर्ने सुझाव दिएको छ ।
प्रतिक्रिया