धनगढी । कैलालीको खुटिया नदीमा डुबेर मृत्यु भएका चार किशोरमध्ये दुई जना दाजुभाइ रहेको खुलेको छ । प्रहरीका अनुसार मृतकमध्ये धनगढी उपमहानगर- ४ उत्तरबेहडीका १७ वर्षीय जेब भण्डारी र जाबेज भण्डारी दाजुभाइ थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार दुबै किशोर जुम्ल्याहा दाजुभाइ थिए ।
सोही घटनामा धनगढी उपमहानगर- ५ हसनपुरका प्रतीक चौधरी र सोही वडाको तारानगरका १७ वर्षीय सक्षम जोशीको मृत्यु भएको छ । `मृतक चार जना र अन्य तीन जना गरी सात जना किशोर जन्मदिन मनाउनका लागि खुटिया पुगेका रहेछन्,´ डीएसपी चन्दले भने, `नदी छेउमा केक पनि काटिएको छ । हात समातेर नदी तर्ने क्रममा चार जना डुबेका रहेछन् । अन्य तीन जना सकुशल छन् ।´
मृतक तीन जना वाल्मीकी इन्टरनेसनल स्कुलका विद्यार्थी थिए भने एकजना ग्यालेक्सी स्कुलमा अध्ययनरत थिए ।
डीएसपी चन्दका अनुसार गोदावरी नगरपालिका–९, खुटिया नदीको झोलुंगे पुल नजिक घटना भएको हो । मृतक चारै जनाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया