धनगढी । सुदूरपश्चिम प्रदेशमा ४९ हजार बढी घरेलु तथा साना उद्योग दर्ता भई सञ्चालन भइरहेका छन् । प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुसार ४९ हजार ७ साय ८१ वटा घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।
निर्देशनालयले उत्पादनमूलक छ हजार ५०७, ऊर्जामूलक नौ, कृषि तथा वनजन्य २६ हजार ५७०, पर्यटनमूलक एक हजार ७७९, सेवामूलक १६ हजार ४२०, पूर्वाधार क्षेत्रको सात सय ४१ र सूचना तथा प्रविधि क्षेत्रको ७० वटा उद्योग दर्ता भएका छन् ।
ती उद्योगहरुलाई प्रबद्र्धन गर्न निर्देशनालय र नौ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुले एक करोड ७८ लाख ५४ हजार ८४८ रुपैयाँ अनुदान वितरण गरेका छन् । अनुदान वितरणका लागि एक जिल्ला एक उद्योग प्रबद्र्धन कार्यक्रम, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रबद्र्धन तथा प्रोत्साहन पूँजिगत अनुदान कार्यक्रम, आरन सुधार कार्यक्रम, परम्परागत उद्यम प्रबद्र्धन कार्यक्रम लगायका कार्यक्रम सञ्चालन गरिएका थिए ।
सञ्चालनमा रहेका उद्योगमध्ये ११० वटा उद्योगलाई १३१ वटा प्रविधि हस्तान्तरण गरिएको निर्देशनालयले जनाएको छ । उद्योगहरुलाई एक करोड १५ लाख २३ हजार ८५१ रुपैयाँका औद्योगिक उपकरण खरिद गरी हस्तान्तरण गरिएको निर्देशनालयकी प्रशासकीय अधिकृत यशोदा बोहराले बताइन् ।
उनका अनुसार चेष्ठ फ्रीज, घाँस काट्ने मेसिन, आटा चक्की, हैरो डिस्क, पावर टिलर, डि फ्रीज, सिलाई मेसिन, धान कुट्ने मेसिन, जुसर मेसिन, छाला जुत्ता सिलाई मेसिन, हावा भर्ने कम्प्रेसर, पार्लर कुर्सी, प्रिन्टिङ मेसिन, इन्भरटर ब्याट्री, दुना टपरी बनाउने मेसिन लगायत प्रविधि हस्तान्तरण गरिएको छ ।
यसैगरी, निर्देशनालयले घरेलु तथा साना उद्योगहरुलाई अनुगमन गरी १४२ वटा औद्योगिक फर्महरुलाई एक लाख ३० हजार रुपैयाँ जरिवाना गरिेको छ । घरेलु तथा साना उद्योग कार्यालय कैलालीले गौरीगंगा र घोडाघोडी नगरपालिकामा रहेका ३५ वटा उद्योगहरुलाई अनुगमन गरी त्रुटी सच्याउन निर्देशन गरेको छ ।
प्रतिक्रिया