धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु मतदाता व्यवसायीलाई आफ्नो र आफ्नो प्यानलको पक्षमा माहोल बनाउने कसरत गरिरहेका छन् ।
संघको नयाँ नेतृत्वका लागि दुई वटा प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । संघको अध्यक्षमा वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र संघका पूर्वमहासचिव रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । सदस्य र पदाधिकारीमा स्वतन्त्र उम्मेदवारी पर्न सक्ने भए पनि नेतृत्वका लागि दुई प्यानलबिचनै प्रतिस्पर्धा हुने देखिएको व्यवसायीहरु बताउँछन् ।
यही भदौ २८ गते हुने निर्वाचनले संघमा अध्यक्षसमेत गरी नौ जना पदाधिकारीसहित २२ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । नेतृत्व चयनका लागि निर्वाचनमा दुई हजार २७४ जना व्यवसायी मतदाता रहेका कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
दुवै प्यानल र उम्मेदवारहरुले अहिले व्यवसायी भेटघाट तथा घरदैलो अभियान गरिरहेका छन् । दुवै प्यानलको चुनावी घोषणापत्रमा व्यवसायीका हकहितका मुद्दाहरुलाई समावेश गरिएका छन् ।
‘संघका पूर्वअध्यक्षहरु र प्रभावशाली व्यवसायीलाई आफ्नो पक्षमा पार्न दुवै प्यानलले व्यक्तिगत पहलसँगै विभिन्न च्यानलको प्रयोग गरिरहेका छन्’ संघको निर्वाचन नजिकबाट नियालीरहेका एक व्यवसायीले भने, ‘कतिपय व्यवसायी अझै खुलिसकेका छैनन् । चुनाव हुन अझै केही दिन बाँकी रहेकाले अहिलेनै कसको पल्ला भारी छ भनेर आँकलन गर्न गाह्रो छ ।’
ओझा नेतृत्वको प्यानलबाट संघको बरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका महासचिव ओमबहादुर बिष्ट, उपाध्यक्ष उद्योगतर्फ बाशुदेव भट्ट, उपाध्यक्ष वाणिज्यतर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगततर्फ वर्तमान कार्यसमितिका कोषाध्यक्ष भीमराज ओझा ‘अब्बु’ र एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल उम्मेदवार रहेका छन् ।
त्यस्तै महासचिवमा दिनेश लम्साल, सचिवमा कृष्णाकुमारी बिष्ट र कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायतले ओझा प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् ।
यो प्यानलबाट संघको कार्यसमिति सदस्यको उम्मेदवारहरुमा बमबहादुर कुँवर, धु्रवराज दाहाल, रेखा बास्तोला, पदमबिक्रम सिंह, अजय पाण्डेय, टेकबहादुर खड्का, तर्कराज भट्ट, सुरजबहादुर रैका, प्रजापति जोशी, कमला भट्टराइ अनुप भण्डारी, बिन्दु सुनार र सुरेश सापकोटाले उम्मेदवारी दिँदै छन् ।
स्वाँरको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष केशवराज जोशी, उपाध्यक्ष उद्योगमा लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी र वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु उम्मेदवार रहेका छन् । त्यस्तै महासचिवमा सुरेश पाण्डेय, सचिवमा प्रकाशकुमार चन्द र कोषाध्यक्षमा तिलक बोहरा स्वाँर प्यानलबाट उम्मेदवार रहेका छन् ।
रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्टले स्वाँर प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिँदैछन् ।
प्रतिक्रिया