डडेल्धुरा । डडेल्धुरा अस्पतालमा हेमोडायलाइसिसको परीक्षण सफल भएको छ । सोमबार जिल्लाको अमरगढी नगरपालिका–४ का ५४ वर्षीय राजेन्द्रविक्रम भण्डारीमाथि सफल डायलाइसिस परीक्षण गरिएको हो ।
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाका अनुसार डडेल्धुरामा स्वास्थ्य विभागबाट दुई वर्षअघि हेमोडायलाइसिसका ५ वटा उपकरण प्राप्त भएको थियो । तर, प्रर्याप्त पूर्वाधार तथा जनशक्ति अभावमा डायलाइसिस सेवा सुरु गर्न नसकिएको उनले बताए ।
सोमबार डायलाइसिसको सफल परीक्षणपछि अब सेवा नियमित हुने उनले बताए । ‘हामीले सफल परीक्षण गरेका छौं । अब स्वास्थ्य विभागमा सूचीकृत गर्नुपर्ने हुन्छ । त्यसका लागि सेवाग्राहीको तथ्यांक लिएर हामीले रिपोर्ट तयार गरेर पठाउने छौं । त्यसपछि विभागबाट अनुगमन भएर हामीलाई अनुमति प्राप्त हुन्छ’ उनले भने ।
अध्यक्ष ओझाका अनुसार सूचीकृत हुन करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ । अनुमति पाएपछि डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका करिब २५ जना बिरामीले डडेल्धुरा अस्पतालबाट सेवा पाउने उनले बताए ।
प्रतिक्रिया