ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

१२ वर्षदेखि न्यायका लागि भौतारिँदै छन् धनगढीका पन्त

मङ्गलबार २५, मङि्सर २०८१ ०१:००

धनगढी । कैलालीको धनगढीका ओमप्रकास पन्तको हत्या भएको आज ठिक १२ वर्ष पुगेको छ । १२ वर्षसम्म हत्यामा संलग्न भने पक्राउ परेका छैनन् । छोराको हत्यामा संलग्न पत्ता लाग्न नसक्दा बुवा श्रीकृष्ण न्यायको लागि भौतारीरहेका छन् । 

मंगलबार मात्रै धनगढीमा पत्रकार सम्मेलन गर्दै पन्तले छोराको हत्या घटनाको अनुसन्धान फेरि गर्नुपर्ने माग राखेका छन् । श्रीकृष्णका अनुसार छिमेकीसँग जग्गाको सीमाका विषयमा पटकपटक विवाद हुने गरेको थियो । ‘सीमा विवादकै कारण छोराको षडयन्त्रपूर्वक हत्या गरिएको हो,’ उनले भने, ‘मैले पटकपटक घटनामा संलग्नको किटान गरेरै प्रहरीलाई जानकारी गराएको छु । आरोपित व्यक्तिलाई प्रहरीले पनि धेरै पटक सोधपुछ गरेको छ । तर, अभियुक्त बनाउन नसक्दा अहिले पनि हामीले न्याय पाएका छैनौँ ।’ 

पन्तका अनुसार अहिले पनि प्रहरी कार्यालय धाउँदा अनुसन्धान जारी छ भन्दै प्रहरी अधिकारीले जवाफ दिने गरेका छन् । ‘हत्याकाण्ड भएको १२ वर्षसम्म पनि दोषी निर्वाधरूपमा घुमिरहेका छन्,’ उनले भने, ‘सरुवा भएर आउने सुदूरपश्चिमका डीआइजी र कैलालीका एसपीलाई भेटेर घटनाबारे जानकारी दिने गरेको छु । सबैले आश्वासनमात्रै दिन्छन् । न्यायको कहिले पाइने हो, थाहा छैन ।’ छोराको हत्या भएपछि अहिले उत्तरबेहडीको घर बिक्री गरिसकेको पन्तले बताए । 
यस्तो थियो घटना
२५ मंसिर २०६९ को राति १० बजेको थियो । धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका २६ वर्षीय ओमप्रकाश पन्तको मोबाइलमा घण्टी बज्यो । फोन पन्त थरकै अर्का व्यक्तिको थियो । फोनमा कुराकानी गरेपछि ओमप्रकाश हतारिएका देखिन्थे । आफूलाई असुरक्षा भएको भन्दै उनले पटकपटक प्रहरीको कन्ट्रोल नम्बरमा फोन लगाए । तर, प्रहरीले ओमप्रकाशको कुरामा गम्भीर भएन । दुई घण्टापछि १२ बजे ओमप्रकाश ‘मलाइ मार्न आउँदै छन्’ भन्दै घरबाहिर निस्के । 

घरमै रहेकी उनकी बहिनीले प्रहरीको कन्ट्रोल नम्बरमा फोन गर्दै जानकारी दिन खोज्दा ड्युटीमा रहेका प्रहरीले उल्टै जिस्क्याए । त्यसको भोलिपल्ट २६ गते उत्तरबेहडीमा ओमप्रकाश धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा मृत फेला परे । ‘घटनास्थलमा फलामको धारिलो डण्डा फेला परेको थियो,’ ओमप्रकाशका बुवा पन्त भन्छन्, ‘बीभत्स हत्या भएको प्रमाण घटनास्थलमा थियो । तर, घटनाको १२ वर्ष पुग्दासमेत प्रहरीले संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले भने ओमप्रकाश पन्त घटनाको अनुसन्धानको फाइल बन्द नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार वर्षाैसम्म सुल्झिन नसकेका घटनाको अनुसन्धानका लागि कैलाली प्रहरीसँग छुट्टै टोली छ । ‘ओमप्रकाश पन्त घटनाको अनुसन्धान जारी भए पनि अहिलेसम्म कुनै ठोस प्रमाण भेटिएको छैन,’ बिष्ट भन्छन्, ‘कुनै नयाँ ‘क्ल’ू पाएपछि ‘पेन्डिङ’ घटनाको अनुसन्धान टोलीले काम थाल्छ ।’
 

प्रतिक्रिया