ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराका अपाङ्गता भएका व्यक्तिले गरे उम्मेदवारीसंग अधिकार सुनिश्चित गर्न माग

शनिबार १६, फागुन २०८२ ०४:३६

डडेल्धुरा । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आफ्ना हक र अधिकार सुनिश्चित हुनुपर्ने अपाङ्गता भएका व्यक्तिले माग गरेका छन् । 

आफूहरूका माग पूरा गरिदिने उम्मेदवारको खोजीमा रहेको उनीहरूले बताए । निर्वाचनमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा बहस भए पनि फरक क्षमता भएका व्यक्तिको जीवनयापन र समस्याबारे छलफल नभएको उनीहरूको गुनासो छ । 

अपाङ्गता भएका व्यक्तिका लागि निर्वाचन प्रतिनिधि चयन प्रक्रिया मात्र नभई आवाज नीति निर्माण तहसम्म पुर्‍याउने अवसर भएको उनीहरूले बताए । शारीरिक, दृष्टि, श्रवण तथा बौद्धिक अपाङ्गतासँग जीवनयापन गरिरहेका व्यक्तिहरू सहानुभूति मात्र नभई समान अधिकारको खोजीमा छन् । पहुँचयुक्त भौतिक संरचना, समावेशी शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उम्मेदवारलाई मात्र समर्थन गर्नुपर्ने उनीहरूको साझा धारणा छ । 

विगतका चुनावी वाचा व्यवहारमा कार्यान्वयन नहुँदा यस्तो समुदायमा निराशा बढेको देखिन्छ । ‘हामीजस्ता फरक क्षमता भएका व्यक्तिका लागि केही गर्छौं भन्ने कुरा धेरै सुनियो,’ अमरगढी–१ भेटाका गणेशबहादुर ऐरले भने, ‘तर ठोस काम देखिएन । अरूका लागि केही भए पनि अपाङ्गता भएका व्यक्ति सधैं पछाडि पर्‍यौं ।’ अजयमेरु गाउँपालिका–३ की जानकी चन्दका अनुसार भोट माग्न दैलो–दैलोमा पुग्ने उम्मेदवारले अपाङ्गता भएका तथा पिछडिएका समुदायका समस्या समाधानको स्पष्ट योजना ल्याउनुपर्ने बताइन् । ‘हामीले दिएको भोटको सदुपयोग हुनुपर्छ,’ उनले भनिन्, अपाङ्गता भएका व्यक्तिलाई विकास र अवसरको मूलधारमा ल्याइनुपर्छ ।’

दैनिक जीवनयापनका लागि कठिनाइ भइरहेको अमरगढी–५ सिलिङधाराका खगेन्द्र पाठकले गुनासो गरे । ‘अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न ठाउँमा अवहेलना खेप्नुपरेको छ,’ उनले भने, ‘सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था भए पनि धेरै सवारीधनीले अपाङ्गता भएका यात्रुलाई चढाउन नखोज्ने अवस्था छ ।’ यस्ता समस्या समाधान गर्न सक्ने क्षमता भएको उम्मेदवार चाहिएको उनले बताए । 

अपाङ्गता समुदायका संस्थाहरू पनि दलहरूको प्रतिबद्धताप्रति सतर्क छन् । जिल्ला अपाङ्ग कल्याण सेवा समिति जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद पन्तका अनुसार दलहरूले घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेटेको दाबी गरे पनि कार्यान्वयन पक्ष कमजोर देखिन्छ । ‘अरू नागरिकका लागि योजना आउँछन्, तर अपाङ्गता भएका व्यक्तिहरूका लागि त्यस्तो देखिँदैन,’ उनले भने,  ‘अन्य नागरिकसरह अपाङ्गता भएका व्यक्तिहरूले पनि मानव अधिकार उपभोग गर्न पाउने दायित्व छ ।’ 

एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा यसपटक तीन जना स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । जिल्लामा करिब ४ हजार १ सय ६४ जना अपाङ्गता भएका व्यक्ति छन् । यसपटकको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूले भावनात्मक भाषणभन्दा ठोस प्रतिबद्धता खोजिरहेका छन् । अधिकार सुनिश्चित गर्ने, नीतिगत सुधारका लागि पहल गर्ने र व्यवहारमै समावेशी लोकतन्त्र अभ्यास गर्ने उम्मेदवार खोजी रहेको उनीहरू बताउँछन् ।

प्रतिक्रिया