ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कार्यालय जलाइएपछि रोकियो पुँजीगत खर्चको भुक्तानी

बुधबार ०१, असोज २०८२ ११:४७

धनगढी । जेनजी आन्दोलनको क्रममा कार्यालयहरु जलेका कारण संघीय, प्रदेश र स्थानीय तहको पुँजीगत खर्च भुक्तानी रोकिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय र जिल्लामा रहेका संघीय कार्यालयहरुको लेखा व्यवस्थित गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीबाट हुने पुँजीगत खर्चको भुक्तानी रोकिएको छ भने स्थानीय तहहरुको पनि भुक्तानी रोकिएको छ ।

प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले प्रदेशका कार्यालयहरुका कर्मचारीलाई तलब भुक्तानी, खानेपानी, विद्युत महसुल भुक्तानी बाहेकका सबै खर्च बन्द रहेको बताए । ‘हाम्रो कार्यालयमा केही कम्प्युटर तोडफोड र गाडीमा आगजनी बाहेकको क्षति भएको छैन,’ उनले भने, ‘प्रहरीले क्षतिको मुचुल्का बनाइसकेपछि कार्यालय व्यवस्थापन गरेर सेवा सुचारु गरेका छौं । तर तलब, खानेपानी तथा विद्युत महसुल भुक्तानी बाहेकको भुक्तानी हुन सकेको छैन ।’

प्रदेशका अधिकांश कार्यालयहरु जलेको हुँदा ती कार्यालयहरुले सेवा सुचारु गर्न सकेका छैनन् । ती कार्यालयहरुको सम्पूर्ण कागजातहरु जलेका छन् । कार्यालयहरुले फाइल तयार गर्न सक्ने अवस्थापछि मात्रै पुँजीगत तथा अन्य खर्चहरुको भुक्तानी पनि सुचारु हुने प्रदेश लेखा नियन्त्रक जाशीले बताए । 

यसैगरी, कैलाली जिल्लामा रहेका संघीय कार्यालयहरुको पनि कर्मचारीको तलब भत्ता भुक्तानी बाहेकको काम सुरु हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी भाष्करकुमार माझीले सोमबारबाट सेवा सुरु गरिएको बताए । ‘हाम्रो कार्यालयको भूइँतला सबै जलेको छ,’ उनले भने, ‘माथिल्लो तलामा हल बाहेक सबै जलेको छ । अहिले यही हलमा सबै कर्मचारी बस्ने व्यवस्था गरी सेवा शुरु गरेका छौं । तलब लगायतका नियमित खर्चहरु भुक्तानी भइरहेको छ । पुँजीगत खर्चहरु भुक्तानी भएको छैन ।’

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट कैलाली जिल्लामा रहेका स्थानीय तहहरुको निकासा समेत हुन सकेको छैन । कतिपय स्थानीय तहहरुले गतआर्थिक वर्ष २०८१÷८२ कै प्रतिवेदन बुझाउन बाँकी रहेकोले संघीय सरकारबाट स्थानीय तहलाई हस्तान्तरण गरिने अनुदानहरुको निकासा हुन नसकेको माझीले बताए ।

यसैगरी, स्थानीय तहहरुले पनि सेवा सुचारु गरे पनि भुक्तानी दिन सकेका छैनन् । धनगढी उपमहानगरपालिकाका एक कर्मचारीले आन्दोलनको क्रममा भएको क्षतिको कारणले भुक्तानीमा समस्या आएको बताए । यद्दपि, धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ र १३ को कार्यालयमा आगजनी र तोडफोडबाहेक अरु कुनै पनि कार्यालयमा क्षति भएको छैन ।

गोदावरी नगरपालिकाले प्रशासनिक भवन जलेको हुँदले सेवा सुचारु गर्न सकेको छैन । नगरपालिकाले सेवा सुचारु गर्नका लागि सहयोग गर्न सार्वजनिक अपिल जारी गरेको छ । सोही अपिलअनुसार कैलाली चेम्बरले गोदावरी नगरपालिकालाई एक थान कम्प्युटर सहयोग गरेको छ ।
 

प्रतिक्रिया