धनगढी । जेनजी आन्दोलनका क्रममा तोडफोड भएपछि धनगढी उपमहानगरपालिका–८,मा रहेको सभागृह सञ्चालन अनिश्चित बनेको छ । नेपाल सरकारको करिब साढे ३२ करोडको लागतमा निर्मित सुविधा सम्पन्न सभागृह प्रयोगमा नआउँदै तोडफोड भएको हो ।
तीन वर्षअघिनै निर्माण सम्पन्न भए पनि सभागृह सञ्चालन हुन सकेको थिएन । आन्दोलनकारीले सभागृहको सिसा, कुर्सीलगायत सामानहरु तोडफोड गरेका छन् । ढुङ्गामुडा गरिदा भवनमा लगाइएका सबैजसो सिसाहरु फुटेका छन् । हलमा राखिएका तोडफोड गरिएका छन् ।
आन्दोलनकारीले हलभित्र केही कुर्सीमा आगजनी गरे पनि आगो भने फैलिन पाएन । सभागृहको सुरक्षामा खटिएका सुरक्षा गार्डका अनुसार स्थानीयले विरोध गरेपछि भवन आगजनी हुनबाट जोगिएको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुनमा सभागृह उद्घाटन गरेका थिए ।
सभागृह सञ्चालनका लागि साउण्ड सिस्टम राख्नेलगायतका कामहरु भइरहेका थिए । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिरमा गर्ने तय भएको लगानी सम्मेलन यही सभागृहमा गर्न खोजेको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले केही साताअघि सभागृहको निरीक्षण पनि गरेका थिए । तर देशमा उत्पन्न परिस्थितिले लगानी सम्मेलन पनि अन्योलमा छ ।
तत्कालीन सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीअन्तर्गत तीन वर्षअघिनै सभागृह निर्माण गरिएको थियो । तर सभागृह सञ्चालनमा भने आएको थिएन । कार्यालयले सभागृह हालै धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि उपमहानगरले सञ्चालनको तयारी गरेको थियो ।
धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले सभागृहमा आन्दोलनकारीले गरेको तोडफोडबाट भएको क्षतिको विवरण एकीन गरिनसकिएको बताए । ‘सहरी विकासकै लगानीमा साउण्ड सिस्टम, स्क्रिन, बाहिरी सजावटका काम सुरु गरिएको थियो’ उनले भने, ‘तोडफोडपछि सभागृह तत्काल सञ्चालन गर्न सकिने अवस्था छैन ।’
सुविधा सम्पन्न सभागृह निर्माण भए पनि सञ्चालन नहुँदा धनगढीमा ठूला सरकारी कार्यक्रमहरु होटेल र पार्टी प्यालेसमा हुँदै आएका छन् । ३२ करोड ६० लाख ८१ हजार लागतमा सभागृहको निर्माण गरिएको हो । एक बिघा क्षेत्रफलमा फैलिएको सभागृह नौ सय ८० सिट क्षमताको छ ।
सभागृहमा साढे ६ सय र दुई सय सिटका दुईवटा हल छन् । एउटा अतिविशिष्ट कक्ष छ । त्यस्तै सय मोटरसाइकल र ५० कार अन्डरग्राउन्ड पार्किङको सुविधा पनि रहेको बताइएको छ ।
प्रतिक्रिया