धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह धनगढी आउने कार्यक्रम एक दिन सरेको छ । सोमबार बालेन धनगढी आउने भनिएको भएपनि उनी मङ्गलबार मात्रै धनगढी आउने भएका छन्।
रास्वपाको चुनावी प्रचारका लागि उनी धनगढी आउन लागेको रास्वपा सुदूरपश्चिमले जनाएको छ । रास्वपा नेता जसुदेवी भट्टका अनुसार बालेन मङ्गलबार बिहान नेपालगन्जबाट धनगढी पुग्ने बताए । सोमबार बालेन नेपालगञ्ज पुगेका छन् । नेपालगञ्जमै दिनभरि व्यवस्त हुने भएकाले मंगलबार बिहान मात्रै धनगढी पुग्ने उनले बताए ।
उनले धनगढीमा पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन् । मङ्गलबारदेखि करिब तीन दिनसम्म शाह सुदूरपश्चिममा रहेर चुनावी सभाहरुलाई सम्बोधन गर्ने बताइएको छ ।
बालेनले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा समेत पुगेर चुनावी सभा सम्बोधन तथा पार्टी कार्यकर्ता र आम नागरिकलाई भेट्ने कार्यक्रम छ । तर कार्यक्रमको तालिका बनि नसकेको रास्वपा नेताहरुले बताएका छन् ।
बालेननिकट स्रोतका अनुसार भोलि कैलाली पुगेपछि उनले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको भ्रमण गर्नेछन् । अछाम क्षेत्र नम्बर २ का उम्मेदवार रहेका बालेन निकट भूपदेव शाहका अनुसार बालेनको यो तीन दिने यात्रा निकै व्यस्त रहनेछ । धनगढीबाट सुरु हुने यात्रा सुदूरपश्चिमका पहाडी जिल्लाहरू हुँदै अछाम पुग्नेछ ।
यसअघि, बालेन सोमबार नै कैलाली पुगेर कैलाली क्षेत्र नं. २ को चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको थियो । कैलाली २ मा बालेन निकट केपि खनालले रास्वपाबाट उम्मेदवारी दिएका छन् ।
सुदूरपश्चिमकाे भ्रमण सकेर बालेनले कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया