धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ भेटिएका कुष्ठरोगीको संख्या कैलाली जिल्लामा सबै भन्दा बढि रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कुष्ठरोग दिवस बनाउन आज धनगढीमा आयोजित कार्यक्रममा निर्देशनालयले प्रस्तुत गरेकोको तथ्यांकमा कैलालीमा नयाँ भेटिएको केश ६८ प्रतिशत रहेको उल्लेख छ । कञ्चनपुरमा १८ प्रतिशत नयाँ केश छ भने पहाडी जिल्ला मध्ये अछाममा ६ प्रतिशत, बैतडी, डडेल्धुरा, दार्चुला र डोटीमा २/२ प्रतिशत नयाँ केश गरी जम्मा ८ प्रतिशत छ । बाजुरा र बझाङमा कुष्ठरोगी गतआर्थिक वर्ष २०८१/८२ मा नभेटिएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अधिकृत मनोजप्रसाद ओझाले दार्चुला र बैतडीमा ३/३ जना, डोटी र डडेल्धुरामा ४/४ जना, अछाममा ११ जना, कञ्चनपुर ३१ र कैलालीमा ११७ जना गरी प्रदेशभरि १७३ जना कुष्ठ रोगी रहेको बताए । उनले कैलालीमा पनि सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकामा ४८ जना, कैलारी गाउँपालिकामा १३ जना, लम्कीचुहा नगरपालिकामा ११ जना कुष्ठ रोगी रहेको बताए । उनका अनुसार कैलालीमा चुरे गाउँपालिका बाहेक सबै स्थानीय तहमा कुष्ठरोग भेटिएको बताए ।
अधिकृत ओझाले कुष्ठरोगी खोजपड्ताल गर्दा मात्रै भेटिने भएकाले खोजपड्ताल गरेको बेला मात्रै रोगी उपचारमा आउने गरेको बताए । उनले सामाजिक लान्छना र विभेदको डरले विमारी लुकाएर बस्ने गरेकाले नयाँ केश पत्ता लगाउन खोजपड्ताल गर्नै पर्ने अवस्था रहेको बताए । उनले रोगी संख्या कम भएपनि यस रोगले अपांगता गर्ने दर ७ प्रतिशत रहेकोले अभियानकै रुपमा खोजपड्ताल गरी उन्मुलन गर्नुपर्ने भएको बताए ।
नयाँ विमारी १७३ जना भेटिदा महिला ७० जना र बालबालिका ५ जना रहेको बताए । उनले बालबालिकामा कुष्ठरोग शून्यमा झार्ने लक्ष्य रहेपनि विभिन्न कारणले सफल नभएको बताए । उनले स्वास्थ्यकर्मीलाई तालिम दिएर पठाएपनि पटक पटक हुने सरुवाले गर्दा विरामीहरु प्रादेशिक अस्पतालमै रिफर भएर आउने भएकोले धनगढीमा बढि केश फेला परेको बताए ।
कार्यक्रममा कैलाली जिल्ला समन्वय समितिका उपप्रमुख टीका चौधरीले खोजपड्ताल अभियानलाई व्यापक बनाएर विरामीलाई उपचारमा ल्याउनुपर्ने बताइन् । उनले त्यसका लागि गाउँगाउँमा जाँच शिविर नै सञ्चालन गरेर भएपनि खोजपड्ताल गर्नुपर्ने बताइन् ।
स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्र कार्कीले कुष्ठरोग उपचार गरे निको हुने रोग रहेको विषयमा जनचेतना फैलाउन विद्यालयमा पोष्टर मार्फत् भएपनि शिक्षा दिनुपर्ने बताए । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक झंकर ढुंगानाले कुष्ठरोगको औषधि एक कार्टुन मात्रामा ल्याउनुपर्ने भएकाले काठमाडौंबाट धनगढीसम्म ल्याउन समेत कठिन रहेको बताए । उनले पछिल्लो पटक कुरियरबाट ल्याउने व्यवस्थापन मिलाएको बताए ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले खोजपड्ताललाई व्यापक बनाउन स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले स्वास्थ्य कार्यालयको एउटा टीम नै खटाएर विरामी खोजपड्ताल गरी उपचारमा ल्याइने बताए ।
स्वास्थ्य कार्यालय कैलाली, प्रदेश स्वास्थ्य प्रबद्र्धन केन्द्र र इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ) को संयुक्त आयोजनामा ७३औं विश्व कुष्ठरोग दिवस मनाउन आयोजित कार्यक्रममा कैलालीका कुष्ठरोगीले भोगेका लान्छना, विभेद, समस्या तथा कुष्ठरोग र उपचारको अवस्था समेटिएको भिडियो समेत समेटिएको थियो ।
प्रतिक्रिया