ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एकपटक बिराएर चुनाव जित्दै आएका एनपी, रोक्ने प्रयासमा रविका विश्वासपात्र

शनिबार १७, माघ २०८२ ०२:४८

धनगढी । कञ्चनपुरमा पनि चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु आफ्ना एजेण्डासहित मतदाता रिझाउन व्यस्त छन् । तीनवटा निर्वाचन क्षेत्र भएको उक्त जिल्लामा योपटक २ नम्बर क्षेत्रमा चुनाव रोचक हुने देखिएको छ । त्यहाँ पटकपटक चुनाव लडेका नेपाली कांग्रेसका नारायणप्रसाद साउद (एनपी), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माधव पन्त, नेकपा (एमाले)का वचनबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपकराज बोहराबीच प्रतिस्पर्धा हुँदै छ ।

सिंह बाजुरा जन्मथलो भएका नेता हुन् । साउद र बोहरा डडेल्धुराबाट कञ्चनपुर बसाइ सरेका हुन् । पन्तको परिवार बैतडीबाट बसाइ सरेको हो । योपटक यो क्षेत्रमा दुई जना डडेल्धुराका, एक बैतडी र एक बाजुराबाट बसाइ सरेका नेताहरूबीच प्रतिस्पर्धा हुने आकलन गरिएको  छ ।

कांग्रेसका साउद सातौँपटक चुनावी मैदानमा होमिएका छन् । साउदले पहिलोपटक २०५१ मा तत्कालीन कञ्चनपुर क्षेत्र नं. ३ बाट चुनाव लडेका थिए । तर एमालेका उर्वादत्त पन्तसँग पराजित भए । २०५६ मा क्षेत्र नंं. १ बाट विजयी भए । उनले एमालेका रामकुमार ज्ञवालीलाई पराजित गरेका थिए । २०६४ को पहिलो संविधानसभाको चुनावमा साउद तत्कालीन माओवादीका देवीलाल चौधरीसँग पराजित भएका थिए । दोस्रो संविधानसभाको चुनावमा साउद १३ हजार ४१५ मत पाएर विजयी भएका थिए ।

साउद २०७४ र २०७९ सालमा २ नम्बर क्षेत्रबाट चुनाव लडेका थिए । २०७४ सालमा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार नरबहादुर धामीसँग पराजित भएका थिए । २०७९ सालमा कांग्रेस, माओवादी र नेकपा एसबीच भएको चुनावी गठबन्धनमा साउद विजयी भएका थिए । साउदले एकपटक जित्दै र अर्कोपटक पराजय भोग्दै आएका छन् । उनी तीन चुनाव जितेका छन् भने तीन वटै चुनावमा पराजय पनि भोगेका छन् ।

कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवानिकट मानिँदै आएका साउदलाई विजयको निरन्तरता दिनुपर्ने र पहिलाको संस्थापनपक्षको बाहुल्य मानिएको सुदूरपश्चिम यथावत् रहेको सन्देश पनि दिनु छ । सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमा साउद मात्र एक्लो व्यक्ति हुन् जसले दोहो¥याएर टिकट पाए । 

यो क्षेत्रमा साउदपछि चर्चामा आएका व्यक्ति हुन्, रास्वपाका दीपक बोहरा । लामो समय पत्रकारिता गरेका उनी पहिलोपटक चुनावमा सहभागी हुँदै छन् । बोहराको पार्टीको प्रचारप्रसार बाहिरबाट भए पनि मतदातासँग उनी नयाँ हुन् । रास्वपाले योपटक बोहरालाई उम्मेदवार बनाएर स्थापित पार्टीहरूलाई दबाबमा राखेको छ । बोहरा लामो समय रास्वपा सभापति रवि लामिछानेसँग काम गरेका व्यक्ति हुन् ।

राजनीतिक रूपमा त्यति चर्चामा नआए पनि बोहरा असल व्यवस्थापक मानिन्छन् । पत्रकारितामा राम्रो स्क्रिप्ट राइटर हुन् । लामिछानेले बोहराको स्क्रिप्ट टेलिभिजनमा वाचन गर्ने गरेका थिए । बोहराले विजयको झण्डा फहराउन अघिल्लोपटकको मतमा धेरै मत बढाउनुपर्नेछ । उनलाई डडेल्धुराबाट चुनाव लड्न कञ्चनपुर आएको आरोपको सामना गर्नुपरेको छ ।


तत्कालीन माओवादीले यो क्षेत्रमा ७० पछि उम्मेदवार नै उठाएको छैन । योपटक नेकपाबाट युवा नेता पन्त उम्मेदवार बनेका छन् । पन्त अध्ययनशील नेताको रूपमा चिनिन्छन् । धेरै पार्टीबीच एकता भएकाले नेकपाका उम्मेदवार पन्तलाई सबैलाई समेटेर जानुपर्ने चुनौती छ । उनलाई सबैभन्दा चुनौती नेकपाभित्रैबाट छ । टिकट वितरण गर्दा लालबहादुर खड्काले पाएका थिए, तर पन्तले दुई दिनपछि टिकट आफूले लिएर उम्मेदवारी दर्ता गराएका हुन् । खड्का अहिलेसम्म कुनै पनि चुनावी कार्यक्रममा सहभागी भएका छैनन् । 

एमालेका सिंह प्रदेशसभामा पराजित भएका थिए । उनले प्रदेशसभा ‘क’मा १० हजार ४६५ मत पाएका थिए । एमालेले ‘ख’मा कृपाराम रानाले ८ हजार ९५७ मत पाएका थिए । उनी उम्मेदवार सिफारिसको चुनावमा पराजित भएर पनि टिकट पाउन सफल रहे । गत २० मंसिरमा उम्मेदवार छनोटका लागि भएको चुनावमा बेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्दले ६१, पूर्वसांसद नरबहादुर धामीले ५७ र सिंहले ५० मत ल्याएका थिए । सिंह राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष पनि हुन् । तर, आन्तरिक चुनावमा पनि तेस्रो भएको व्यक्तिलाई टिकट दिएको भन्दै पार्टीभित्र असन्तुष्टि छ । यो असन्तुष्टिलाई मिलाएर जानुपर्ने सिंहलाई चुनौती छ । सिंह प्रदेशसभामा पराजित भए पनि प्रतिनिधिसभा चुनाव उनका लागि पनि पहिलो हो ।
 

प्रतिक्रिया