ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्वः मुख्यमन्त्री शाह

बिहिबार १५, माघ २०८२ ०५:५१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन् । 

कैलाली क्षेत्र नं. २ मा लम्कीमा बिहिबार कार्यकर्तासँगको कुराकानीका क्रममा मुख्यमन्त्री शाहले जेन–जी आन्दोलनपछि उठेका सवालहरूलाई नयाँ जनादेशमार्फत सम्बोधन गर्न मुलुकमा निर्वाचन आवश्यक रहेको बताएका हुन् । उनले सरकारबाट निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरू तथा युवा वर्गसँग पर्याप्त छलफल नभएको भन्दै निर्वाचन नहुने भ्रम फैलाउने प्रयास गरेको बताए । यस्ता भ्रमका बाबजुद सरकार निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन दृढतापूर्वक लागिपरेको उनले बताए ।

प्रदेश सरकारको प्रमुखको हैसियतले निर्वाचन सम्पन्न गराउनु आफ्नो दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावलाई सफल बनाइने प्रतिबद्धता व्यक्त गरे । उनले “एकता नै बल हो” भन्ने मान्यतालाई आत्मसाथ गर्दै एकताबाट मात्रै नयाँ सम्भावना र सकारात्मक परिवर्तन सम्भव हुने विश्वाससमेत व्यक्त गरे ।

प्रतिक्रिया