धनगढी । सुदूरपश्चिममा सबैभन्दाको चाँसोका साथ हेरिन्छ, कैलाली– ५ को निर्वाचन । प्रदेशको व्यापारिक केन्द्र र राजधानी भएकाले पनि कैलाली– ५ को चुनावी सरगर्मीमा पनि धेरैको चाँसो छ ।
यसपटक कैलाली– ५ मा यसपटक १६ जना चुनावी मैदानमा छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट नरनारायण शाह ‘मनु’, एमालेका यज्ञराज ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले र रास्वपाका आनन्दबहादुर चन्दबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
निर्वाचनमा कैलाली–५ का मतदाताले प्राय फरक परिणाम दिँदै आएका छन् । ०६४ सालम भएको पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रको अधिकांक भाग कैलाली– ६ मा थियो । उक्त निर्वाचनमा माओवादीकी लिला भण्डारी यस क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा यहाँका मतदाताले फरक परिणाम दिए । कांग्रेसका शेरबहादुर देउवा विजयी भए । उनले यस क्षेत्र छोडेपछि भएको उपनिर्वाचनमा भने यस क्षेत्रका मतदाताले दल दोह¥याए । उपनिर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझा विजयी भए ।
२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली– ५ का मतदाताको रोजाई फेरि फेरियो । नेपाली नेतृ आरजु राणा देउवालाई पराजित गर्दै एमालेका नारदमुनि राना विजयी भए । ०७९ सालको निर्वाचनमा पनि कैलाली– ५ का मतदाताको रोजाई फेरियो र पुनः कांग्रेसलाई जिताइदिए । उक्त निर्वाचनमा कांग्रेसका डिल्लीराज पन्तले एमालेका रानालाई पराजित गरेका थिए ।
अहिले यस क्षेत्रमा कांग्रेस, एमाले लगायतका दलले नयाँ अनुहारलाई प्रतिस्पर्धामा उतारेका छन् । हुन त कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणाले चुनाव लड्न चाहेको क्षेत्र हो, कैलाली–५ । तर, अन्तिम सयममा आरजुले चुनाव नलड्ने भनेपछि मनुले टिकट पाएका थिए । पार्टीमा प्रदेश महामन्त्री रहेका मनुसंग दुई कार्यकाल कैलाली सभापति भइसकेको अनुभव पनि छ । उनी राजनीतिसंगै खेलकुद र सामाजिक कार्यमा पनि वर्षाैदेखि सक्रिय भएका कारण आसन्न निर्वाचनमा जिन निकाल्न मुस्किल नहुने कांग्रेसका नेताहरु बताउँछन् । शुक्रबार मात्रै धनगढी शहीद गेटमा शहीदको फोटोमा माल्यार्पण गरी मनुले घरदैलो अभियान सुरु गरेका छन् । उनले शहीदका सपना पूरा गर्न र कैलाली क्षेत्र नम्बर ५ का जनताका माग पूरा गर्न आफ्नो उम्मेदवारी रहेकाले आजको पवित्र दिनबाट घरदैलो सुरु गरिएको बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट प्रेम आले उम्मेदवार बनेपछि कैलाली ५ थप चर्चामा छ । डोटीबाट चुनाव जित्दै आएका आले एकाएक कैलाली झर्नु पनि राजनीतिक चर्चाको विषय बनेको छ । आलेले डोटीमा २०७०, २०७४ र २०७९ सालमा चुनाव जितेका थिए । २०७० र २०७४ सालमा एमालेबाट र २०७९ मा कांग्रेसको समर्थनमा तत्कालीन नेकपा एकीकृत समाजवादीबाट आलेले चुनाव जितेका थिए । आलेलाई यो क्षेत्र नयाँ हो । उनी डोटीबाट कैलाली आएकाले टुरिस्ट उम्मेदवारको आरोप खेपिरहेका छन् । तर, उनी कांग्रेसको पूर्वसंस्थापन र विशेष महाधिवेशनपक्षबीचको अन्तरविरोध र एमालेभित्रको अन्तर्विरोधमा खेलेर जित्ने दाउमा छन् । आले आफू बोलेको बाचा पुरा गर्ने नेता भएकाले यहाँको विकासका लागि आफूलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।
एमालेका उम्मेदवार यज्ञराज ढुंगाना पहिलोपटक चुनावी मैदानमा होमिएका छन् । उनी एमालेको जिल्ला कमिटी अध्यक्ष हुन् । उनलाई पहिला पार्टीको आन्तरिक विवाद मिलाउनुपर्ने चुनौती छ । एमालेमा टिकट वितरणदेखि महाधिवेशन प्रतिनिधि चयन र केन्द्रीय सदस्य निर्वाचनमा पनि गुटगत रूपमा विभाजन भएको छ । २०७४ सालमा आरजु राणालाई हराएका नारदमुनि रानालाई टिकट नदिँदाको असर एमालेलाई पर्ने आकलन गरिएको छ । रानालाई एमालेभित्रको आन्तरिक विवादले जिल्लाबाटै पाखा लगाइएको छ । पाखा लगाउनेमा केन्द्रीय सदस्य दामोदर भण्डारी र ढुंगानाको टिम नै अग्रमोर्चामा रहेको चर्चा छ । यो पक्षलाई साथमा नलिए ढुंगानाले चुनाव जित्ने अवस्था नरहेको एमालेका एक जिल्लास्तरीय नेता बताउँछन् । ती नेताले भने, ‘दामोदर भण्डारी र यज्ञ ढुंगानाहरू मिलेर नारदमुनिलाई पेलेर किनारामा पु¥याएका छन् । टिकट पनि जनाधार बलियो भएका रानालाई नदिएर ढुंगानाले पाएका छन् । तर, असन्तुष्टि धेरै छ । चुनावमा अप्ठेरो हुन सक्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी जितभन्दा पनि सम्मानजनक मतको खोजीमा छ । अघिल्लो चुनावमा रास्वपाले यो क्षेत्रमा तीन हजार ४०५ मत पाएको थियो । समानुपातिकमा चार हजार ४५५ मत पाएको छ । रास्वपाले यो क्षेत्रमा आनन्द चन्दलाई उम्मेदवार बनाएको छ । तर, रास्वपाको नगर समितिले भीमबहादुर बोहरालाई एकल सिफारिस गरेको थियो । केन्द्रले चन्दलाई टिकट दिएपछि विवाद चर्केको थियो । रास्वपाले चन्दको विरोध भएपछि लक्ष्मण थारूलाई उम्मेदवार बनाउने घोषणा ग¥यो । फेरि चन्दलाई नै उम्मेदवार बनाएको छ । चन्द राजनीतिभन्दा पनि स्वास्थ्य अभियन्ताको रूपमा बढी चिनिन्छन् । चन्द नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियन्ता हुन् ।
प्रतिक्रिया