धनगढी । दुई वर्षमै पूर्वाधार निर्माण सम्पन्न गरी तेस्रो वर्षदेखि १५ शय्याको अस्पताल सञ्चालन गर्ने उद्देश्यले कैलालीका ११ स्थानीय तहमा २०७७ सालमा योजना सुरु गरिएको थियो । तर, पाँच वर्ष पुग्दा पनि छ स्थानीय तहमा भवन नै बनेको छैन । दुई स्थानीय तहमा भवन बनाउन नपर्ने भए पनि अस्पताल सञ्चालनमा ढिलाई भएको छ भने एक स्थानीय तहमा भरखरै भवन हस्तान्तरण भएको छ ।
बर्दगोरिया गाउँपालिकामा मात्रै १५ शय्याको अस्पताल सञ्चालन भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकाले दोदोधारा अस्पताल २०८० मै सञ्चालन गरी १५ शय्याको अस्पताल सुरु गर्ने पहिलो स्थानीय तह बनेको थियो ।
लम्कीचुहा नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भइरहेकाे छ । कैलालीको चुरे गाउँपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र गौरीगंगा नगरपालिकामा निर्माणकोसुरसार नै छैन । ती स्थानीय तहहरुमा अस्पताल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत बनेको छैन । चुरे गाउँपालिकाको सहजपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शय्याको अस्पताल बनाउन २०८०/८१ मै डिपिआर बनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गजेन्द्रबहादुर बिष्टले बताए । उनले मन्त्रालयले अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित पाएपछि मात्रै डिपिआर स्वीकृत गरेर बजेट पठाउने आश्वासन दिएको बताए ।
यसैगरी, जानकी गाउँपालिकाको वडा नं. १ मा १५ शय्याको अस्पताल बनाउन डिपिआर नै तयार नभएको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र शाहीले बताए । गौरीगंगा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुनिलकुमार चौधरीले वडा नं. २ स्थित पुरानो चौमाला बजारमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने गरी डिपिआर बनाइएको भए पनि मन्त्रालयबाट स्वीकृत नभएपछि योजना अलपत्र गरेको बताए । जोशीपुर गाउँपालिकामा १५ शयय्याको अस्पताल बनाउन जमीनको भोगाधिकार लिने काम मात्रै भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमितकुमार साहले निर्माणमा जान अझै धेरै समय लाग्ने बताए ।
मोहन्याल गाउँपालिकामा १० शय्या र घोडाघोडी नगरपालिका १५ शय्याको अस्पतालका लागि भवन निर्माण सुस्त गतिमा छ । मोहन्याल गाउँपालिकाका इञ्जिनियर योगेन्द्र भण्डारीले वडा नं. ६ सोल्टामा निर्माण भइरहेको भवनको एक सेक्सन ढलान भएको र अर्को सेक्सन ढलान गर्न बाँकी रहेको बताए । उनले चालुआर्थिक वर्षमा निर्माण सम्पन्न हुने बताए । छ करोडमा २०७७/७८ मै ठेक्का लगाइएको भए पनि सुरुको दुई वर्ष केन्द्रबाटै बजेट नआएपछि २०८०/८१ बाट मात्रै काम सुरु भएको इञ्जिनियर भण्डारीले बताए ।
यसैगरी, घोडाघोडी नगरपालिकाको वडा नं. २ साँडेपानीमा १५ शय्याको अस्पताल भवन निर्माणको काम सुस्त गतिमा भइरहेको नगरपालिकाका स्वास्थ्य जनस्वास्थ्य अधिकृत देवबहादुर चौधरीले बताए । उनले २०७७/७८ मै ठेक्का लगाएर निर्माण भइरहेको भए पनि भवन निर्माण सम्पन्न नहुँदा अस्पताल सञ्चालनमा समेत ढिलाई भइरहेको बताए ।
कैलारी गाउँपालिका वडा नं. ५ बैसपुरमा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएको छ । गतआर्थिक वर्षको जेठमा निर्माण सम्पन्न भई यही असोजमा गाउँपालिकालाई हस्तान्तरण भएको स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले बताए । उनले भवन बनिसकेपछि स्वास्थ्य मन्त्रालयलाई सञ्चालनका लागि उपकरण उपलब्ध गराउन अनुरोध गरेको बताए ।
उनले चालुआर्थिक वर्षमा अस्पतालका लागि उपकरण खरिद गर्न बजेट नआएको बताउँदै पालिकाले व्यवस्थापन गर्नुपर्ने जनशक्तिका लागि समेत बजेट विनियोजन नरहेको बताए । ‘६–७ करोड रुपैयाँ उपकरण राख्नमै खर्च हुन्छ,’ चौधरीले भने, ‘यत्रो बजेट व्यवस्थापन गर्न गाउँपालिकाले सक्दैन । केन्द्रले दिएको छैन । दिने भन्नु भएको छ । बजेट आयो भने उपकरण खरिद गरी जनशक्ति व्यवस्थापन गर्छौ । जनशक्ति गाउँपालिकाले नै व्यवस्थापन गर्नुपर्छ तर हामीले पनि जनशक्ति राख्नको लागि विनियोजन गरेका छैनौं ।’
भवन नबनाई अस्पताल सञ्चालन गर्न सकिने व्यवस्था रहेको भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकामा सञ्चालनको तयारी भइरहेको छ । भजनी नगरपालिकाको वडा नं. १ स्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ सैय्याको अस्पताल सञ्चालन गर्ने योजना अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य शाखा संयोजक कैलाशबहादुर डगौराथारुले अस्पताल सञ्चालनका लागि औषधी, उपकरण खरिद तथा जडान, ओएनएम सर्भे स्वीकृति लगायतका काम सम्पन्न भइसकेको बताए ।
‘अब अस्पतालाई आवश्यक डाक्टर र स्टाफ नर्सको नियुक्तिका लागि विज्ञापन गर्न मात्रै बाँकी छ,’ उनले भने, ‘नगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त भएको हुनाले मात्रै विज्ञापन हुन सकेको छैन । शिक्षाको एकजना उपसचिव तीन महिनाको लागि आउने निश्चित भएको छ । उहाँ आएपछि हामी विज्ञापन गरेर जनशक्ति नियुक्त गरी तुरुन्तै अस्पताल सञ्चालन गर्छौ ।’
स्वास्थ्य शाखा संयोजक डगौरा थारुका अनुसार स्वास्थ्य चौकीमा अहिले पनि बहिरंग, अन्तरंग र इर्मेन्सी सेवा सञ्चालन भइरहेको छ । ‘सिनियर एचए, अहेब, नर्सिङ स्टाफ, ल्याब टेक्निसियन लगायत ३५ जनाको जनशक्ति अहिले नै छ,’ उनले भने, ‘एक जना विशेषज्ञ (एमडिजिपि), दुई जना मेडिकल अधिकृत, ५ जना स्टाफ नर्स र एक जना आयुर्वेदको कविराज नियुक्त गर्न बाँकी छ ।’
यसैगरी, धनगढी उपमहानगरपालिका वडा नं. १८ फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनको तयारी भइरहेको छ । एडिबीले बनाएको बहुउद्देश्यीय भवन प्रयोगविहीन भएपछि सो भवनलाई पार्टेशन गरेर अस्पताल सञ्चालनको तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । उनले पार्टेशनको काम सकिएपछि उपकरण जडान गरी तिहारपछि सञ्चालन गर्ने तयारी रहेको बताए ।
टीकापुर नगरपालिकामा ५१ शय्याको जिल्ला अस्पताल र गोदावरीमा मालाखेती अस्पताल सञ्चालनमा रहेको हुँदा ती दुई स्थानीय तह १५ शय्याको अस्पताल बनाउने सूचीमा परेका थिएनन् । नेपाल सरकारले नागरिकलाई स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ २०७७ मा आधारभूत अस्पताल बनाउने योजना अगाडि बढाएको थियो ।
प्रतिक्रिया