ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटामा खुल्ने स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक, के–के भए निर्णय ?

मङ्गलबार २८, असोज २०८२ ०३:०८

धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माहाविर पुनको अध्यक्षतामा संघीय राजधानीमा पहिलो बैठक भएको हो । बैठकले विश्विद्यालय ऐनअनुसार सर्वोच्च निकायका रुपमा रहेको सभामा दुई महिलासहित सात जना मनोनित गरेको छ । सभाका सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार विश्वविद्यालयहरुको तर्फबाट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसमेत रहेका प्रा.डा. हेमराज पन्तलाई सभा सदस्यमा मनोनित गरिएको छ । 

यस्तै, विज्ञतर्फबाट प्रा.डा. जयराज अवस्थी, प्रा.डा. अम्मरराज जोशी, डा. लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा. डम्मरबहादुर पाल, प्रा.डा. संगीताराज भण्डारीलाई मनोनित गरिएको मुख्यमन्त्री शाहले बताए । ‘उपकुलपति र रजिष्टार नियुक्तिका लागि सिफारिस समिति बनेको छ,’ मुख्यमन्त्री शाहले भने, ‘प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा रहेको समितिमा डा. दीपक महरा र प्राध्यापक भारती जोशी सदस्य रहेका छन् ।’ 

सभामा शिक्षामन्त्री अध्यक्ष रहने व्यवस्था छ । यस्तै, स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालयका उपकुलपति, गोदावरी नगरपालिकाका मेयर लगायत पनि सदस्य रहने ऐनमा उल्लेख छ । 

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रतिनिधिसभाबाट पारित हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशन भइसकेको छ । ४ असारमा नेपाल सरकारको राजपत्रमा प्रकाशन भएको ऐन प्रमाणीकरण भएको ३१औँ दिनदेखि प्रारम्भ हुने भनिएको छ । ऐन प्रमाणीकरण भएको चार महिना पुग्नै लागेको छ । 
 

प्रतिक्रिया