ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीका निजी अस्पतालविरुद्व आन्दोलनमा स्वास्थ्यकर्मी

श्रम शोषण र दमन बन्द गर्न माग

बिहिबार ३०, असोज २०८२ ११:११

धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीमा रहेका निजी अस्पतालविरुद्व स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । निजी अस्पतालहरुले श्रम शोषण र दमन गरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । विभिन्न निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिएका छन् । 

निजी स्वास्थ्य संस्थामा कार्यरतस्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारी सरह दिनुपर्ने सरकारको निर्देशन कार्यान्वयन हुनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण रुपमा धर्ना सुरु गरिएको स्टाफ नर्स आस्मा नेगीले बताइन् । उनका अनुसार करार नियुक्ति सम्झौता गरेर मात्रै काममा राख्नुपर्ने,सक्कल शैक्षिक लब्धाङ्क पत्रहरू कार्यालयले राख्न नपाइने, तोकिएको समयभन्दा बढी काम गर्दा अतिरिक्त भत्ता दिनुपर्ने र पारिश्रमिक बैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने माग पनि राखिएको छ ।

स्वास्थ्यकर्मीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले प्रदेशको सामाजिक विकास मन्त्रालयमा पनि धर्ना दिने जनाएका छन् । 
कैलालीको धनगढी र अत्तरियामा सञ्चालनमा ल्याइएका निजी अस्पतालले स्वास्थ्यकर्मीमाथि श्रम शोषण गर्दै गुनासो उनीहरुको छ । श्रम शोषणविरुद्व आवाज उठाउँदा जागिरबाटै निकाला गर्न थालिएको आरोप उनीहरुको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७ मंसिरमा सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारी सरह दिनुपर्ने निर्देशन दिएको थियो । करार नियुक्ति सम्झौता गरेर मात्रै काममा राख्नुपर्ने, ज्यालादारीमा काम गराउन नपाइने, सक्कल शैक्षिक लब्धाङ्क पत्रहरू कार्यालयले राख्न नपाइने लगायतका निर्देशन पनि दिइएको थियो । उक्त निर्देशनमा भनिएको छ, ‘तोकिएको समयभन्दा बढी काम गर्दा अतिरिक्त भत्ता दिनुपर्छ । अबदेखि पारिश्रमिक बैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्नेछ ।’

उक्त निर्देशनअनुसार स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी हुनुपर्ने हो । तर, महंगा अस्पतालका रुपमा चिनिएका कैलालीको धनगढी र अत्तरियामा रहेका निजी अस्पतालमा भने १५ देखि २० हजार मात्रै कर्मचारीलाई पारिश्रमिक दिइरहेका छन् । 
 

प्रतिक्रिया